स्वर्णिम वाग्लेको एउटा कदम जसले बालेन बुललाई बनायो बन्धक, सर्किट लागेको भोलिपल्टै ३२ अंकको गिरावट
- BFIS News
- 2026 Mar 10 16:07
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनपछि उत्साहित बनेका लगानीकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता स्वर्णिम वाग्लेको एक कदमले झट्का दिएको छ। नेपाल राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशनपछि दोस्रो कारोबार दिनमै शेयर बजारमा गिरावट आएको हो। जवकी निर्वाचन पछि खुलेको पहिलो कारोबारमै शेयर बजारमा ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा झरेको छ। सुशासन र सुधारको एजेन्डा बोकेर आएको रास्वपाबाट लगानीकर्ताले फरक शैलीको अपेक्षा गरेका थिए। तर भावी अर्थमन्त्रीका रूपमा हेरिएका वाग्लेको प्रारम्भिक कदममै राजनीतिक नियुक्तिको संकेत देखिएपछि बजारमा केही अन्योल देखिएको लगानीकर्ताहरूको भनाइ छ।
रास्वपाले निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि अबको पाँच वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण तयार हुने अपेक्षाले लगानीकर्ता उत्साहित भएका थिए। तर उनको यो पहिलो कदमबाटै आगामी दिनमा पनि राजनीतिक नियुक्तिको पुरानै शैलीलाई रास्वपाले पनि अगाडी बढाउने संकेत गरेको भन्दै बजारमा मनोवैज्ञानिक दबाब देखिएको हो।
निकट भविष्यमा रास्वपाले एकल बहुमतको सरकार गठन गर्ने छ। यससँगै अघिल्ला सरकारले गरेका विभिन्न राजनीतिक नियुक्ति पुनरावलोकन हुने सम्भावना रहेको विश्लेषण गरिएको छ। त्यस्तै अझै कार्यकाल बाँकी रहेका राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाउने विषयमा पनि बहस सुरु भएको बताइन्छ।
यसले रास्वपा पनि संस्थागत सुधारभन्दा आफ्ना निकट व्यक्तिहरूलाई व्यवस्थापन गर्ने दिशातर्फ केन्द्रित हुने हो कि भन्ने आशंका बढाएको विश्लेषकहरू बताउँछन्। यद्यपि आम नागरिकले भने देशमा संस्थागत सुशासन सुदृढ हुने र भ्रष्टाचार अन्त्य हुने अपेक्षा राखेका छन्।
मंगलबारको बजारमा भने उच्च कारोबार भएको छ। यस दिन २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ, जुन पछिल्लो आठ महिनाकै उच्च कारोबार रकम हो। यसअघि २०८२ साउन ५ गते २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबारको बजार भने अत्यधिक उत्साहका कारण तीन पटक सर्किट ब्रेक लागेर नियमित समयभन्दा अगाडि नै बन्द भएको थियो। त्यस दिन नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको थियो भने ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ ६६ पैसा बराबरको शेयर कारोबार भएको थियो।
मंगलबारको कारोबारमा केही कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर मूल्य सर्किट लेभलमा पुगेको हो। त्यस्तै थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ भने कालिका पावर हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता हिम स्टार कम्पनी भने सर्वाधिक घट्ने कम्पनी बनेको छ। सो कम्पनीको शेयर मूल्य ६.३६ प्रतिशतले घटेर बन्द भएको छ।
कारोबार रकमका आधारमा मंगलबार न्यादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको एक अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आँखु खोला हाइड्रोपावरको ६९ करोड ६४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूह घटेका छन्। यस दिन म्युचुअल फण्ड उपसमूह सर्वाधिक १.३४ प्रतिशतले बढेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूह पनि सामान्य रूपमा उकालो लागेको छ।
तर व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशतले घटेको छ। त्यसैगरी फाइनान्स २.०६ प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, होटल, लगानी तथा अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया