Nepal Life

ग्यास आपूर्ति प्रभावित हुँदा विद्युतीय चुल्हो प्रयोगतर्फ ध्यान

NMB Bank
  • BFIS News
  • 2026 Mar 13 11:31
ग्यास आपूर्ति प्रभावित हुँदा विद्युतीय चुल्हो प्रयोगतर्फ ध्यान
National Life

काठमाडौँ । मध्यपूर्व क्षेत्रको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति श्रृङ्खलामा अवरोध देखिएसँगै नेपालमा पनि खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रभावित भएको छ।

Shikhar
NIMB

पछिल्लो समय बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता र व्यवसायी दुवैलाई समस्या परेको छ।

छिमेकी भारतमा समेत एलपीजी ग्यास अभाव देखिएपछि त्यहाँका केही होटल तथा रेष्टुरेन्ट सञ्चालनमा कठिनाइ आएको खबरहरू सार्वजनिक भएका छन्। यसको प्रभाव नेपालमा पनि परेको देखिएको छ। विगत करिब एक महिनादेखि नेपाली बजारमा ग्यासको आपूर्ति नियमित नभएको भन्दै उपभोक्ताहरूले गुनासो गर्दै आएका छन्। केही होटल तथा रेष्टुरेन्टले समेत आवश्यक मात्रामा ग्यास प्राप्त गर्न नसकेको बताएका छन्।

सरकार र आपूर्तिसम्बन्धी निकायहरूले ग्यास अभाव नभएको दाबी गरे पनि उपभोक्ताले डिलरमार्फत नियमित रूपमा सिलिन्डर प्राप्त गर्न नसकेको बताएका छन्। कतिपय उपभोक्ताले ग्यास सकिएपछि नयाँ सिलिन्डर पाउन दुईदेखि तीन सातासम्म कुर्नुपरेको गुनासो गरेका छन्। नेपाल आयल निगमले भने दैनिक पर्याप्त मात्रामा ग्यास आयात भइरहेको जनाएको छ।

ग्यास आपूर्तिमा देखिएको समस्याबीच सरकारले खाना पकाउन विद्युतीय चुल्हो प्रयोग बढाउन आग्रह गरेको छ। स्वदेशमै उत्पादन भएको विद्युत् प्रयोग गरेर खाना पकाउने व्यवस्था विस्तार गर्दा आयातित ग्यासमाथिको निर्भरता घटाउन सकिने सरकारी धारणा छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ग्यासको तुलनामा विद्युतीय चुल्हो प्रयोग गर्दा लागत कम पर्ने देखिएको छ। उदाहरणका लागि ४ देखि ५ सदस्यीय परिवारले प्रयोग गर्ने १४.२ किलोग्रामको एलपीजी सिलिन्डर सामान्यतया एक महिनासम्म चल्छ र यसको लागत करिब २ हजार रुपैयाँ पर्छ। त्यही परिवारले इन्डक्सन चुल्हो प्रयोग गरी बिहान र बेलुका खाना पकाउँदा मासिक करिब १२० युनिट विद्युत् खपत हुने अनुमान गरिएको छ। औसत प्रतियुनिट १० रुपैयाँको दरले मासिक विद्युत् खर्च करिब १२०० रुपैयाँ पर्ने प्राधिकरणको अनुमान छ।

प्राधिकरणले ग्यासको तुलनामा इन्डक्सन चुल्हो प्रयोग गर्दा मासिक करिब ६०० देखि ८०० रुपैयाँसम्म खर्च बचत हुन सक्ने जनाएको छ। साथै, ग्यासको तापीय दक्षता करिब ५० प्रतिशत मात्र रहने जबकि इन्डक्सन चुल्होको तापीय दक्षता ७० देखि ८० प्रतिशतसम्म हुने भएकाले खाना पकाउन लाग्ने समय पनि कम हुने बताइएको छ।

नेपाल एलपीजी ग्यासका लागि पूर्ण रूपमा आयातमा निर्भर छ। नेपाल आयल निगमका अनुसार एलपीजी ग्यास आयातका लागि वार्षिक करिब ५० देखि ६० अर्ब रुपैयाँ विदेशिने गरेको छ। विद्युतीय चुल्होको प्रयोग बढेमा आयातमा खर्च हुने रकम घट्न सक्ने तथा स्वदेशी ऊर्जाको उपयोग बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया