Nepal Life

प्रतिनिधि सभा उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाउन थाले

NMB Bank
  • BFIS News
  • 2026 Mar 13 11:49
प्रतिनिधि सभा उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाउन थाले
National Life

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गर्न थालेका छन्।

Shikhar
NIMB

निर्वाचन आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवार तथा राजनीतिक दललाई निर्धारित समयभित्र आम्दानी र खर्चको विवरण सार्वजनिक गरी आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउन निर्देशन दिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२(४) अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था छ भने समानुपातिक प्रणालीतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा विवरण बुझाउनुपर्छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार खर्च विवरण सार्वजनिक गरी त्यसको प्रमाणसमेत पेश गर्नुपर्ने प्रावधान रहेको छ। तोकिएको समयभित्र विवरण नबुझाएमा कानुनी कारबाही हुन सक्ने भएकाले उम्मेदवारहरूले खर्च विवरण बुझाउने क्रम बढेको आयोगले जनाएको छ।

हालसम्म विभिन्न दलका उम्मेदवारहरूले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साहले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्। विवरणमा सवारी साधन भाडा, प्रचार कार्यक्रम, प्रचार सामग्री छपाइ, ब्यानर तथा स्टिकर, नमुना मतपत्र छपाइ, कार्यालय सञ्चालन तथा अन्य खर्च समावेश गरिएको छ।

तनहुँ–१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेले २६ लाख ९० हजार ७५४ रुपैयाँ चुनावी खर्च भएको विवरण बुझाएका छन्। उनले प्रचार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपैयाँ, विद्युतीय प्रचारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ तथा खाना, खाजा र अस्थायी बसोवासमा ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

चितवन–२ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। विवरणअनुसार यातायात तथा इन्धन, प्रचार सामग्री, खाद्यान्न, नमुना मतपत्र छपाइ, मतदाता प्रशिक्षण र अन्य प्रचारसम्बन्धी खर्च समावेश गरिएको छ।

चितवन–३ की उम्मेदवार सोविता गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावी खर्च भएको विवरण सार्वजनिक गरेकी छन्। यसमा सवारी साधन भाडा, प्रचार सामग्री, मतदाता प्रशिक्षण, नमुना मतपत्र छपाइ, स्टेशनरी तथा खाद्यान्न खर्च समावेश गरिएको छ।

म्याग्दी–१ बाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले निर्वाचन अवधिमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको बताएका छन्। विवरणअनुसार होटलमा बसोबास तथा खानामा १३ लाखभन्दा बढी, यातायातमा ६ लाख ६० हजार ९९८, डिजेलमा ३ लाख ६० हजार ४९९ तथा चालक पारिश्रमिकमा करिब १ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

नेकपा (एमाले)का नेता सूर्य थापाले प्युठान–१ बाट उम्मेदवारी दिँदा २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। यसमध्ये वडा तथा पालिका स्तरका कार्यक्रमका लागि ६ लाख ४० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

दाङ–२ का उम्मेदवार तथा एमाले महासचिव शंकर पोखरेलले पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन्। उनले मतदाता नामावली खरिद, सवारी साधन, इन्धन, प्रचार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यालय सञ्चालन लगायतका शीर्षकमा खर्च भएको उल्लेख गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले २३ लाख १० हजार रुपैयाँ चुनावी खर्च भएको विवरण पेश गरेका छन्। विवरणअनुसार कार्यालय व्यवस्थापन, डिजिटल प्रचार सामग्री उत्पादन तथा विज्ञापन, घरदैलो कार्यक्रम, प्रचार सामग्री छपाइ, बुथ व्यवस्थापन, सवारी साधन भाडा र कार्यकर्ता परिचालनमा खर्च गरिएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारहरूले खर्च विवरण सार्वजनिक गरी पारदर्शिता कायम गर्नुपर्ने व्यवस्था गरेको छ। अन्य उम्मेदवारहरूले पनि क्रमशः निर्वाचन कार्यालयमा आफ्नो खर्च विवरण बुझाइरहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया