Nepal Life

कालंगा हाइड्रोले चैत १० देखि आईपीओ निष्काशन गर्ने, ४९ लाख कित्ता शेयर जारी गर्दै

NMB Bank
  • BFIS News
  • 2026 Mar 16 11:29
कालंगा हाइड्रोले चैत १० देखि आईपीओ निष्काशन गर्ने, ४९ लाख कित्ता शेयर जारी गर्दै
National Life

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्य बराबरको ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोहीमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

यस अन्तर्गत ९ लाख १० हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। अति प्रभावित क्षेत्रमा बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा पर्दछन्।

त्यसैगरी बाँकी ४ लाख ९० हजार कित्ता शेयर बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका अति प्रभावित क्षेत्रमा नपरेका अन्य सबै वडाका स्थायी बासिन्दालाई वितरण गरिनेछ।

यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरू पात्र हुनेछन्।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा चैत २४ गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख ९ गतेसम्म खुला रहनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँ ३ पैसा रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २८ करोड ३० लाख ६२ हजार १२० रुपैयाँ ६८ पैसा रहेको कम्पनीले जनाएको छ।

सो जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष १ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ। यस आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकको कार्यालयका साथै आयोजनास्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ–१ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका–१० बझाङ, गोकुलेश्वर तथा शैल्यशिखर–९ दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका बझाङ र डिलासैनी गाउँपालिका बैतडी शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका–४ बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया