Nepal Life

नेप्से २६.०७ अंकले घट्यो, कारोबार रकम पनि घट्दै ११ अर्ब ९७ करोडमा सीमित

NMB Bank
  • BFIS News
  • 2026 Mar 16 16:02
नेप्से २६.०७ अंकले घट्यो, कारोबार रकम पनि घट्दै ११ अर्ब ९७ करोडमा सीमित
National Life

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा गिरावट आएको छ। अघिल्ला दुई दिन बढेको बजार यस दिन भने घटेर बन्द भएको हो।

Shikhar
NIMB

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.०७ अंक अर्थात् ०.९२ प्रतिशतले घटेर २,७९८.८३ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि नेप्से २३.८७ अंकले घटेको थियो।

यस दिन बजार खुलेको समयमा नेप्से २,८२७.३४ विन्दुमा थियो। कारोबार अवधिभर परिसूचकले २,८२७.६२ विन्दुसम्म उच्च बिन्दु छोएको थियो भने न्यूनतम २,७९२.१३ विन्दुसम्म झरेको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ६.३८ अंकले घटेको छ। त्यस्तै फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर १ लाख २ हजार ७५९ पटकको कारोबारमा किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

यस दिन बजार पूँजीकरण ४७ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १६ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ र कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३९६ रुपैयाँमा बन्द भएको छ। त्यस्तै नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम ४१ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। साथै होटल फरेष्ट इनको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ।

त्यसैगरी, सिद्धार्थ इक्विटी फण्डको मूल्य सबैभन्दा बढी घटेको छ। सो फण्डको मूल्य ४.३९ प्रतिशतले घटेको हो।

उपसमूहतर्फ हेर्दा १३ मध्ये १ उपसमूहको परिसूचक मात्र बढेको छ भने १२ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह ०.२५ प्रतिशतले बढेर सबैभन्दा बढी बढ्ने उपसमूह बनेको छ। विपरीत रूपमा बैंकिङ्ग उपसमूह १.६१ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको उपसमूह बनेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया