इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै हेटौडामा प्रदर्शन तथा दीप प्रज्वलन
- BFIS News
- 2026 Mar 16 19:12
काठमाडौं। सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै हेटौडामा विरोध प्रदर्शन तथा दीप प्रज्वलन गरिएको छ।
सोमबार हेटौडाको सिमा चोकमा मानवेश्वर युवा क्लबको आयोजनामा प्लेकार्डसहित दबाबमूलक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा क्लबका प्रतिनिधिहरू, जेन्जी युवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रदर्शनमा एक सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारालाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘छोरीको सुरक्षा गर’, ‘न्याय किन्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। उनीहरूले ‘Justice for Nisha BK’, ‘महिला तथा दलितमाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘पीडितलाई न्याय देऊ’, ‘Rise Youth Voice for Justice’, ‘लैङ्गिक हिंसा बन्द गर’, ‘हिंसा र विभेदविरुद्ध हाम्रो एकता’ लेखिएका प्लेकार्ड बोकेका थिए।
हेटौडाको सिमा चोक परिसरबाट नारा लगाउँदै निकालिएको विरोध र्यालीले सहर परिक्रमा गरेको थियो। त्यसपछि कार्यक्रम कोणसभामा परिणत भई मैनबत्ती प्रज्वलन गर्दै सम्पन्न गरिएको थियो।
कार्यक्रममा मानवेश्वर युवा क्लबका अध्यक्ष श्रीजल जंग बस्नेत, कोषाध्यक्ष राघव लामिछाने लगायत युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकैको सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो। उक्त घटनाले सुर्खेतसहित देशभरका नागरिकमा आक्रोश उत्पन्न गरेको छ। प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्दै पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)





प्रतिक्रिया