सर्वोत्तम सिमेन्टको नाफा ५०% ले बढ्यो, मन्दीबीच पनि आम्दानीमा सुधार
- BFIS News
- 2026 May 06 11:47
काठमाडौं । नेपालको पहिलो ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्ट लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार निर्माण क्षेत्रमा देखिएको मन्दीका बाबजुद कम्पनीले आम्दानी र खुद नाफा दुवैमा सुधार गर्न सफल भएको देखिएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ७९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँको तुलनामा करिब ३ प्रतिशतले बढी हो। यसले बजारमा माग सुस्त रहँदा पनि कम्पनीले आफ्नो बिक्री स्थिर राख्दै वृद्धि गर्न सकेको संकेत गर्छ।
नाफातर्फ भने कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको छ। कम्पनीको खुद नाफा ५०.२१ प्रतिशतले बढेर ९० करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। त्यस्तै, कुल नाफा पनि १ अर्ब ३० करोड रुपैयाँबाट बढेर १ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय सुधारमा लागत नियन्त्रण प्रमुख कारकका रूपमा देखिएको छ। उत्पादन लागत तथा सञ्चालन खर्चलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दा नाफामा उल्लेख्य वृद्धि सम्भव भएको कम्पनीले जनाएको छ। साथै, अन्य आम्दानी १२ करोड ४८ लाख रुपैयाँबाट बढेर १८ करोड ७९ लाख रुपैयाँ पुग्नुले पनि समग्र नाफामा सकारात्मक प्रभाव पारेको छ।
यद्यपि, कम्पनीले केही चुनौतीहरू पनि औंल्याएको छ। विश्व बजारमा कोइला तथा पेट्रोलियम पदार्थको मूल्यमा हुने वृद्धि उत्पादन लागत बढाउने जोखिमका रूपमा रहेको छ। साथै, आन्तरिक तथा बाह्य बजारमा सिमेन्टको माग र मूल्यमा हुने उतारचढावले व्यवसायमा अनिश्चितता थप्ने देखिन्छ।
यी चुनौतीहरूको सामना गर्न कम्पनीले उत्पादन लागत घटाउने तथा गुणस्तर सुधार गर्ने लक्ष्यसहित नयाँ प्रविधिको प्रयोग र खानी स्रोतहरूको प्रभावकारी उपयोग गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया