उच्च अदालतका न्यायाधीशविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
- BFIS News
- 2026 Mar 31 11:52
काठमाडौं, चैत १८ — उच्च अदालत पाटनका दुई जना न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ। सोमबार सर्वोच्च अदालतमा न्यायाधीश ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरूद्ध अवहेलना रिट दायर गरिएको हो।
कानुनका विद्यार्थी विवेक चौधरीले उक्त रिट निवेदन सर्वोच्च अदालतमा दायर गरेका हुन्। यस मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।
रिट निवेदनमा उच्च अदालत पाटनले फैसला गर्दा सर्वोच्च अदालतबाट स्थापित बाध्यकारी कानुनी सिद्धान्तहरूको पालना नगरी निर्णय गरेको आरोप लगाइएको छ। निवेदक चौधरीले आफ्नो निवेदनमा सर्वोच्च अदालतका विभिन्न फैसलाबाट प्रतिपादित सिद्धान्तहरू स्पष्ट रूपमा उल्लेख गरेको भए पनि ती सिद्धान्तलाई बेवास्ता गरिएको दाबी गरेका छन्।
निवेदनअनुसार नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानूनी आधारबिना गरिएको भन्दै उक्त कार्य बदर गराउन उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो। तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनको आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने ठहर गर्दै रिट खारेज गरेको थियो।
चौधरीले सर्वोच्च अदालतले विभिन्न मुद्दामा ‘कानुनले स्पष्ट अधिकार नदिएसम्म कुनै पनि निकायले अधिकार प्रयोग गर्न नपाउने’ तथा ‘राज्यका सबै निकायले कानुनको अधीनमा रही काम गर्नुपर्ने’ जस्ता सिद्धान्तहरू स्थापित गरेको उल्लेख गरेका छन्। तर, ती सिद्धान्तको जानाजानी अवज्ञा गरिएको उनको आरोप छ।
नेपालको संविधानको धारा १२८ (४) ले सर्वोच्च अदालतले प्रतिपादन गरेका कानुनी सिद्धान्तहरू सबैले पालन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यस्तो अवस्थामा तल्लो अदालतले उक्त सिद्धान्तको बेवास्ता गरेको भन्दै अवहेलनाको विषय बनेको दाबी गर्दै चौधरी सर्वोच्च अदालत पुगेका हुन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया