Nepal Life

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

NMB Bank
  • BFIS News
  • 2026 Apr 05 12:46
डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
United Ajod

काठमाडौँ, चैत २२ — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभएको छ। आइतबार बिहान सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा केसीले उक्त घोषणा गर्नुभएको हो।

Shikhar
Nepal Life
NIMB

सभामुख पदका लागि अर्यालको प्रस्तावकमा रवि लामिछाने रहनुभएको थियो भने समर्थकमा सोविता गौतम, स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए। प्रस्तावक तथा समर्थकहरूले बैठकमा आ–आफ्नो धारणा राखेपछि ज्येष्ठ सदस्य केसीले अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्नुभएको हो।

निर्वाचित सभामुख अर्यालले आजै रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। मनोनयन दर्ताको दिन एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध रूपमा सभामुखमा चयन हुनुभएको हो।

डोलप्रसाद अर्याल नेपाली राजनीतिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। वि.सं. २०७९ माघमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उहाँले करिब २० दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। सोही वर्षको निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा निर्वाचित उहाँ रास्वपाका उपसभापतिका रूपमा सक्रिय रहँदै आउनुभएको छ।

सर्वोच्च अदालतले रास्वपा अध्यक्ष लामिछानेको नागरिकता अवैध ठहर गरेपछि अर्याल केही समय कार्यवाहक अध्यक्षको भूमिकामा रहनुभएको थियो। साथै सहकारी मुद्दामा लामिछाने कारागारमा रहेका बेला पनि उहाँले पार्टी नेतृत्व सम्हाल्नुभएको थियो। दुई पटक श्रम मन्त्री भइसकेका अर्याल पछिल्लो समय पार्टीभित्र प्रभावशाली नेताका रूपमा स्थापित हुनुहुन्छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया