नबिल बैंकको नाफा ३३.९२% ले वृद्धि, ६ अर्ब ७६ करोड रुपैयाँ कमाई, इपिएस ३३ रुपैयाँ
- BFIS News
- 2026 Apr 28 08:53
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय वित्तीय सुधार देखाएको छ। सार्वजनिक विवरणअनुसार बैंकले सो अवधिसम्ममा साढे ६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुनुका साथै इम्पेयरमेन्ट चार्ज घटेकाले समग्र नाफामा सुधार आएको हो। यसले बैंकको सञ्चालन क्षमता थप सुदृढ भएको संकेत गर्दछ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी (EPS) ३३ रुपैयाँ २ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २५ रुपैयाँ ५ पैसा थियो। यसैगरी, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ, जसले लाभांश दिने क्षमता बढेको संकेत गरेको छ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी ३२ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ। साथै, बैंकको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ।
समग्रमा, नबिल बैंकको वित्तीय सूचकहरूमा देखिएको सुधारले बैंकको स्थायित्व र लगानीकर्ताप्रतिको आकर्षण अझ बलियो बनेको देखिन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया