स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी अब अनलाइनबाटै दर्ता हुने
- BFIS News
- 2026 May 05 20:48
काठमाडौं । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकवाहक सवारी साधनको दर्ता र राजश्व भुक्तानी अब अनलाइनमार्फत नै गर्न सकिने भएको छ । सरकारले भारतीय पर्यटक तथा भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यले यस्तो सेवा सुरु गरेको हो ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी सवारी साधनका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न र राजश्व तिर्न सकिने प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको जनाएको छ । उक्त प्रणालीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच गरेका हुन् ।
नयाँ प्रणाली लागू भएसँगै अब नेपालमा सवारीसाधन लिएर आउने पर्यटकले भन्सार नाकामा पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । यसअघि यस्ता सवारी साधनले नाकामै गएर इजाजत लिनुपर्ने र यात्रा अवधि सकिँदा पुनः नवीकरणका लागि भन्सार कार्यालय पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो ।
अब भने पर्यटकले आफ्नै स्थानबाट अनलाइनमार्फत सवारी साधनको विवरण भरी आवश्यक राजश्व तिरेपछि सहजै नेपाल प्रवेश गर्न सक्नेछन् । उद्घाटन समारोहमा अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास व्यक्त गरे । उनले सुशासन र छरितो सार्वजनिक सेवा प्रदान गर्ने सरकारी लक्ष्यअनुसार यो सेवा सुरु गरिएको बताए ।
भन्सार विभागका महानिर्देशक श्याम प्रसाद मैनालीका अनुसार अब विदेशी सवारी साधनको अस्थायी इजाजत पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित हुनेछ । पर्यटकले आफ्ना सवारी साधन सम्बन्धी विवरण स्वयं अनलाइनमै घोषणा गर्न सक्नेछन्, जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
राजश्व भुक्तानी अनलाइनमार्फत वा बैंक काउन्टरबाट गर्न सकिने व्यवस्था गरिएको छ । अनलाइन भुक्तानीपछि प्राप्त हुने क्यूआर कोड देखाएरै सवारी साधन नेपाल प्रवेश गर्न सक्नेछन् । उक्त क्यूआर कोडका आधारमा देशभर सहज रूपमा यात्रा गर्न पाइने विभागले जनाएको छ ।
यात्रा अवधि सकिएमा पनि पर्यटकले आफू रहेको स्थानबाटै अनलाइनमार्फत अवधि थप गर्न सक्ने व्यवस्था गरिएको छ । यो सेवा प्रयोग गर्न भन्सार विभागको वेबसाइटमा गएर ‘हाम्रा सेवाहरू’ अन्तर्गत ‘टीआईभी’ मोड्युलमार्फत आवश्यक विवरण भर्नुपर्नेछ ।
विभागका अनुसार नेपाल राष्ट्रिय एकद्धार प्रणालीमार्फत अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरी सेवा सञ्चालनमा ल्याइएको हो । हाल यो सेवा विशेषगरी भारत र बंगलादेशका पर्यटकलाई लक्षित गरिएको छ भने आवश्यक परे अन्य मुलुकका पर्यटकका लागि पनि प्रयोगमा ल्याउन सकिने जनाइएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया