नेपालको बीमा बजारको सुरुवात र चुनौती, बरिष्ठ एजेन्सी म्यानेजर दामोदर गौतमको लेख
- दामोदर गौतम
- 2026 May 09 18:18
काठमाडौं। नेपालमा बीमा व्यवसायको सुरुवात २०२४ साल पुस १ गते कम्पनी ऐन अन्तर्गत प्राइभेट लिमिटेड कम्पनीको रूपमा राष्ट्रिय बीमा संस्थान स्थापना भएपछि भएको मानिन्छ। त्यसपछि २०२५ साल पुस १ गते राष्ट्रिय बीमा संस्थान ऐन लागू भई उक्त संस्थानलाई संस्थानकै रूपमा रूपान्तरण गरिएको थियो। २०२४ साल फागुन ११ गते तत्कालीन राजा महेन्द्रले आफ्नै सवारी साधनको बीमालेख खरिद गर्दै औपचारिक रूपमा बीमा कारोबारको उद्घाटन गरेका थिए।
प्रारम्भिक चरणमा शिक्षित सरकारी कर्मचारीहरूले साना–साना बीमा पोलिसीहरू जारी गर्ने गरेको पाइन्छ। देशको आर्थिक विकासका लागि आन्तरिक स्रोत तथा पूँजी परिचालन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने तथा व्यावसायिक बीमा कम्पनी स्थापना गर्ने सरकारी निर्णयले नेपालमा बीमा व्यवसायको औपचारिक सुरुवात भएको देखिन्छ। यसअघि सीमावर्ती क्षेत्रका केही व्यक्तिहरूले भारतीय बीमा कम्पनीहरूसँग पहुँचका आधारमा बीमा सेवा लिने गरेका थिए।
२०४४ सालमा दोस्रो बीमा कम्पनीका रूपमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भयो। त्यसपछि २०५८ सालमा बजार विस्तार गर्ने उद्देश्यले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल), नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तथा मेट लाइफ जस्ता कम्पनीहरू स्थापना भए। यसले बीमा सेवाको पहुँच विस्तार गर्दै दुर्गम क्षेत्रसम्म पुर्याउने काम गर्यो। साथै, साना–साना पोलिसीहरू मार्फत शिक्षित वर्गलाई लक्षित गर्दै बजार विस्तार गरियो।
बीमा कम्पनीहरूले देशका प्रमुख शहर तथा व्यापारिक केन्द्रहरूमा कार्यालय स्थापना गरी रोजगारी सिर्जना गर्ने कार्य पनि गरेका छन्। नेपालको विकासोन्मुख अर्थतन्त्रमा बीमा कम्पनीहरूले पूँजी परिचालन र एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। अभिकर्ता र कर्मचारीका रूपमा धेरै व्यक्तिहरूले यस क्षेत्रलाई रोजगारी र आय आर्जनको अवसरका रूपमा उपयोग गरेका छन्।
२०६४ सालमा थप चार जीवन बीमा कम्पनी—सूर्य लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र एशियन लाइफ—स्थापना भएसँगै बजार अझ प्रतिस्पर्धी र विस्तारमुखी बन्यो। २०७४ सालमा पुनः १० वटा नयाँ जीवन बीमा कम्पनी दर्ता भए, जसमध्ये ९ वटाले तत्काल लाइसेन्स प्राप्त गरे भने एक कम्पनीले २०७५ सालमा मात्र अनुमति पायो। यसपछि बीमा बजार झनै आक्रामक रूपमा विस्तार भएको देखिन्छ।
एक समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा आए, जसले बजारमा तीव्र प्रतिस्पर्धा सिर्जना गर्यो। बीमा पहुँच (penetration) पनि उल्लेखनीय रूपमा बढ्दै करिब ७.८ प्रतिशतबाट ४०–४५ प्रतिशतसम्म पुगेको तथ्यांक बीमा प्राधिकरणले सार्वजनिक गरेको छ। पछिल्लो समय बीमा प्राधिकरणले न्यूनतम चुक्ता पूँजी २ अर्बबाट बढाएर ५ अर्ब पुर्याएपछि पूँजी वृद्धि गर्न नसक्ने कम्पनीहरूलाई मर्जरमा जान प्रोत्साहित गरिएको छ, जसका कारण जीवन बीमा कम्पनीहरूको संख्या घटेर १४ मा सीमित भएको छ।
समग्रमा हेर्दा नेपालमा बीमा कम्पनीहरूबीच पूँजी एकीकरणको होड चलेको देखिन्छ, जुन सकारात्मक पक्ष हो। यसले राज्यको आर्थिक प्रणालीलाई सुदृढ बनाउन सहयोग पुर्याउँछ र आवश्यकता परे राज्यलाई ऋण उपलब्ध गराउन सक्ने क्षमतासमेत विकास गरेको छ। तर, अत्यधिक प्रतिस्पर्धाले केही नकारात्मक प्रभाव पनि पारेको छ। कम्पनीहरूबीच कर्मचारी तानातान, अनावश्यक पदका लागि प्रतिस्पर्धा तथा अस्वस्थ श्रम बजारको अवस्था देखिन थालेको छ, जसतर्फ नियामक निकायले ध्यान दिन आवश्यक छ।
त्यसैगरी, अभिकर्ताको स्तरमा पनि अनियन्त्रित प्रतिस्पर्धा देखिन्छ। पर्याप्त तालिम र ज्ञानबिना अभिकर्ता लाइसेन्स वितरण गर्दा बीमा सम्बन्धी गलत जानकारी फैलिने र आम जनमानसमा नकारात्मक धारणा बन्ने समस्या देखिएको छ। यद्यपि, हाल बीमा प्राधिकरणले अभिकर्ता बन्नका लागि परीक्षा अनिवार्य गरेको छ, जुन सकारात्मक कदम हो। यसको प्रभावकारी कार्यान्वयन र अनुगमन अझै आवश्यक छ।
यद्यपि, देशभर फैलिएका लाखौं अभिकर्ताहरूले गाउँ–गाउँमा छरिएको सानो पूँजीलाई एकीकृत गर्ने महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै प्रोत्साहन र सम्मान प्रदान गर्न सके स्वदेशमै रोजगारी सिर्जना, आय आर्जन वृद्धि र पूँजी विस्तारमा थप सहयोग पुग्नेछ। यसले राज्यको कर राजस्व वृद्धि गर्न समेत मद्दत पुर्याउँछ।
बीमा क्षेत्रले आकस्मिक घटनाबाट उत्पन्न हुने आर्थिक क्षतिमा परिवारलाई राहत प्रदान गर्दै सामाजिक सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा काम गरिरहेको छ। त्यसैले यस पेशालाई थप मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरणले अझ सक्रिय भूमिका खेल्नुपर्ने देखिन्छ।
(लेखक दामोदर गौतम पेशागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष हुन्।)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया