मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा समस्या उस्तै, समाधानमा ढिलाइप्रति असन्तुष्टि
- BFIS News
- 2026 May 10 12:06
इलाम । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक मेची राजमार्ग अन्तर्गतको माइखोला–राजदुवाली सडक खण्डमा वर्षौंदेखिको समस्या अझै समाधान हुन सकेको छैन।
निर्माण र मर्मतका काम भइरहे पनि सडकको अवस्था सुधार नहुँदा यात्रु, स्थानीयवासी तथा यातायात व्यवसायीले निरन्तर सास्ती भोग्दै आएका छन्।
इलामको गोलाखर्क भञ्ज्याङदेखि माइखोला–राजदुवालीसम्म करिब तीन किलोमिटर सडक खण्ड विशेष जोखिमयुक्त मानिन्छ। सामान्य वर्षापछि पनि पहिरो खस्ने, सडक भासिने तथा हिलो जम्ने समस्या दोहोरिने गरेको स्थानीयको भनाइ छ। कतिपय स्थानमा सडक साँघुरिएर एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्था आउने गरेको छ भने कहिलेकाहीँ पूर्ण रूपमा यातायात अवरुद्ध हुने गरेको छ।
दैनिक सयौं सवारी साधन सञ्चालन हुने यस मार्गमा लामो जाम सामान्यजस्तै बनेको छ। एम्बुलेन्स, विद्यार्थी बोकेका सवारी तथा उपभोग्य वस्तु ढुवानी गर्ने गाडीहरू घण्टौं रोकिनुपर्ने अवस्था रहेको जनाइएको छ। जोखिमपूर्ण सडकका कारण कतिपय यात्रु पैदल यात्रा गर्न बाध्य हुने गरेका छन्।
हाल उक्त सडक खण्डमा जे एण्ड जे निर्माण कम्पनीमार्फत काम भइरहेको छ। निर्माण कम्पनीले भौगोलिक जटिलता र निरन्तर पहिरोका कारण काम गर्न कठिनाइ भइरहेको जनाएको छ।
यातायात व्यवसायी सुमन काफ्लेका अनुसार सडकको खराब अवस्थाले चालकहरू निरन्तर तनावमा यात्रा गर्न बाध्य छन्। सडक बिग्रँदा सवारी साधनमा समेत क्षति पुग्ने गरेको उनले बताए।
सडक डिभिजन कार्यालय इलामले ठेक्का प्रक्रियामार्फत सडक मर्मत तथा सञ्चालनको काम भइरहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सडक सञ्चालनमा राख्न दैनिक काम भइरहे पनि लगातारको पहिरो र कमजोर भू–संरचनाले समस्या जटिल बनाएको छ।
प्राविधिकहरूले उक्त क्षेत्रलाई भू–स्खलनको दृष्टिले संवेदनशील मानेका छन्। कमजोर भौगोलिक बनावट, पानी निकासको अभाव तथा विगतमा गरिएको अस्थायी कटानका कारण जोखिम बढ्दै गएको उनीहरूको निष्कर्ष छ। दीर्घकालीन समाधानका लागि रिटेनिङ वाल, जैविक इन्जिनियरिङ, ढल व्यवस्थापन तथा आवश्यक परे वैकल्पिक मार्ग निर्माणको आवश्यकता औंल्याइएको छ।
यस विषयमा संघीय सांसद निश्कल राई ले समस्या समाधानका लागि केन्द्र सरकारसँग बजेट व्यवस्थापनको पहल भइरहेको बताएका छन्। अर्का सांसद सुहाङ नेम्बाङ ले पनि सडक स्तरोन्नति र दिगो समाधानका लागि पहल भइरहेको बताएका छन्।
तर स्थानीयवासीले विगतदेखि दोहोरिँदै आएका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
मेची राजमार्ग कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाम जिल्लालाई झापासहित तराई क्षेत्रसँग जोड्ने प्रमुख मार्ग हो। सडक अवरुद्ध हुँदा यात्रु आवागमनसँगै कृषि उत्पादन, उपभोग्य वस्तुको आपूर्ति तथा पर्यटन गतिविधिमा समेत असर पर्ने गरेको छ। विशेषगरी चिया र अलैंची ढुवानीमा समस्या हुँदा किसानहरू प्रभावित हुँदै आएका छन्।
वर्षायाम सुरु हुन लागेसँगै माइखोला–राजदुवाली सडक खण्डको जोखिम थप बढ्ने अनुमान गरिएको छ। निर्माण तथा मर्मत कार्य भइरहे पनि दीर्घकालीन समाधान कहिले हुने भन्ने प्रश्न अझै खुला रहेको स्थानीयको गुनासो छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया