यी १३ गल्तीले बैंकका कर्मचारीको जागिर नै चैट !
- BFIS News
- 2026 May 13 18:00
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले आफ्नो पेशागत आचरण, जिम्मेवारी र गोपनीयतामा विशेष ध्यान दिनुपर्ने हुन्छ । सामान्य लापरवाहीदेखि गैरकानुनी गतिविधिसम्मका केही कार्यले कर्मचारीको जागिर मात्रै होइन, सम्पूर्ण करियर नै संकटमा पार्न सक्छ ।
बैंकिङ क्षेत्र अत्यन्त संवेदनशील र विश्वासमा आधारित सेवा क्षेत्र भएकाले कर्मचारीको आचरणमाथि कडा निगरानी हुने गर्छ । कतिपय अवस्थामा साथीभाइको प्रभाव, भावनात्मक निर्णय वा अज्ञानतावश गरिएका कामले समेत ठूलो क्षति निम्त्याउन सक्छ ।
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले तयार पार्ने कर्मचारी विनियमावलीको टेम्प्लेटमा प्रचलित कानुनअनुसार केही गम्भीर कसुरमा कर्मचारीलाई स्पष्टीकरणको मौका नै नदिई सेवाबाट बर्खास्त गर्न सक्ने आधार दिएको छ । यस्ता १३ काम गरेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी जागिरबाट हट्न सक्नेछन् :
१. घूस वा रिसवत लिने–दिने, गैरकानुनी फाइदा लिने वा संस्थालाई हानि–नोक्सानी पुर्याउने कार्य गरेमा ।
२. झूटो शैक्षिक योग्यता वा नक्कली प्रमाणपत्र पेश गरेर सेवामा प्रवेश गरेको पाइएमा ।
३. फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भई सजाय पाएमा ।
४. बैंक वा वित्तीय संस्थाको सम्पत्ति तथा कोषको दुरुपयोग गरेमा ।
५. कार्यस्थलमा कसैको सम्पत्ति चोरी गरेमा ।
६. बैंक, ग्राहक वा अन्य आर्थिक कारोबारमा हिनामिना वा अनियमितता गरेमा ।
७. आफ्नो जिम्मामा रहेको वा प्रयोगमा रहेको सम्पत्तिमा जानाजानी क्षति पुर्याएमा ।
८. संस्थालाई नोक्सानी पुर्याउने उद्देश्यले गोप्य सूचना, उत्पादन सूत्र वा विशेष प्रविधिसम्बन्धी गोपनीयता भंग गरेमा ।
९. प्रतिस्पर्धी संस्थासँग मिलेर काम गरेमा, आफैं प्रतिस्पर्धी व्यवसाय सञ्चालन गरेमा वा गोप्य सूचना चुहावट गरेमा ।
१०. कार्यालय समयमा लागू पदार्थ वा मादक पदार्थ सेवन गरेर आएमा वा सेवन गरेमा ।
११. कार्यस्थलमा यौन दुर्व्यवहार, अनुचित शारीरिक स्पर्श वा यौनजन्य प्रताडना हुने व्यवहार गरेमा ।
१२. तीन वर्षभित्र खराब आचरणका कारण दुई पटक वा सोभन्दा बढी विभागीय सजाय पाएमा ।
१३. बैंकिङ कसुर तथा सजाय ऐनअनुसार कसुर मानिने कार्य गरेमा, ग्राहकको व्यवसायमा हिस्सेदार बनेमा वा ग्राहकको तर्फबाट व्यापारिक कारोबारमा संलग्न भएमा ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार कर्मचारीले पेशागत मर्यादा, पारदर्शिता र नैतिकता कायम राख्न नसके कानुनी कारबाहीसँगै भविष्यको करियरसमेत प्रभावित हुन सक्छ । त्यसैले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले नियम, आचारसंहिता र कानुनी व्यवस्थाबारे सचेत रहनु आवश्यक छ।
राष्ट्र बैंकले कर्मचारीमाथि कारवाही गर्दा सुनुवाइको उचित अवसर दिनुपर्ने व्यवस्था गरेको छ। यद्यपि पहिलो पटक सामान्य नसिहत दिँदा भने स्पष्टीकरणको मौका दिन अनिवार्य नहुने उल्लेख गरिएको छ।
कुनै कर्मचारीको गम्भीर लापरवाही वा हेलचेक्र्याइँका कारण बैंक वा वित्तीय संस्थालाई नोक्सानी पुगेमा उक्त क्षतिको केही वा सम्पूर्ण हिस्सा सम्बन्धित कर्मचारीबाट असुलउपर गर्न सकिनेछ।
त्यस्तै, सरुवा आदेशको पालना नगर्ने, लगातार ३० दिन वा एक वर्षमा ९० दिनसम्म गैरहाजिर रहने तथा कर्मचारीको गतिविधिका कारण बैंकको साख वा हितमा असर पुग्ने अवस्था देखिएमा कडा कारवाही गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकले खराब आचरणलाई पनि विभिन्न तहमा वर्गीकरण गर्दै सजायको दायरा निर्धारण गरेको छ। बैंकलाई हानि–नोक्सानी पुर्याउने, झुटा विवरण पेश गरेर सुविधा लिन खोज्ने वा अभद्र व्यवहार गर्ने कर्मचारीको बढीमा एक दिन बराबरको पारिश्रमिक कट्टा गर्न सकिनेछ।
यस्तै, बैंकको सम्पत्ति अनधिकृत रूपमा प्रयोग गर्ने, कारोबारमा हिनामिना गर्ने प्रयास गर्ने, गोपनीयता उल्लंघन गर्ने, ग्राहकको व्यक्तिगत विवरण चुहाउने, यौन दुर्व्यवहारजन्य व्यवहार गर्ने वा स्वीकृति बिना लामो समय अनुपस्थित रहने कर्मचारीको एक वर्षसम्म तलब वृद्धि वा बढुवा रोक्का गर्न सकिने प्रावधान राखिएको छ।
कार्यालय समयमा मादक पदार्थ वा लागू पदार्थ सेवन गर्ने, सहकर्मीसँग अभद्र व्यवहार गर्ने, अनुशासन बारम्बार उल्लंघन गर्ने तथा कार्यसम्पादन कमजोर देखिने कर्मचारीलाई सुविधा सहित सेवाबाट हटाउन सकिने व्यवस्था पनि विनियमावलीमा समावेश गरिएको छ।
त्यसैगरी, पटक–पटक निर्देशन अवज्ञा गर्ने, विभागीय प्रमुखको मार्गदर्शनपछि पनि कार्यसम्पादन सुधार नगर्ने, आचारसंहिता उल्लंघन दोहोर्याउने तथा सरुवा भएको कार्यालयमा समयमै हाजिर नभएका कर्मचारीमाथि तलब वृद्धि रोक्का, ग्रेड घटुवा वा बढुवा रोक्का जस्ता कारवाही गर्न सकिनेछ।
राष्ट्र बैंकले अनुशासनसम्बन्धी कारवाहीलाई चरणबद्ध बनाएको छ। पहिलोपटक गल्ती गर्ने कर्मचारीलाई सचेत गराउने व्यवस्था गरिएको छ भने त्यसपछि पनि सुधार नआए चेतावनी, नसिहतदेखि सेवाबाट हटाउनेसम्मका कारवाही गर्न सकिने उल्लेख गरिएको छ।
यस व्यवस्थालाई बैंकिङ क्षेत्रमा बढ्दो अनुशासनहीनता, गोपनीयता उल्लंघन तथा पेशागत मर्यादामा देखिएको कमजोरी नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ। बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार राष्ट्र बैंकको यो कदमले कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया