NIMB Header 2
Nepal Life

बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो, मधेशको वृद्धिदर सबैभन्दा न्यून

IME LIFE
  • BFIS News
  • 2026 May 21 05:29
बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो, मधेशको वृद्धिदर सबैभन्दा न्यून
United Ajod

काठमाडौं। नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै रहने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार बागमती प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत योगदान पुर्‍याउने देखिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा न्यून रहने अनुमान गरिएको छ।

Nepal Life
NIMB

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसमध्ये बागमती प्रदेशको हिस्सा २४ खर्ब २३ अर्ब रुपैयाँ रहनेछ। त्यसपछि कोशी प्रदेश १० खर्ब ४३ अर्ब रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ। लुम्बिनी प्रदेशको कुल उत्पादन ९ खर्ब ३७ अर्ब रुपैयाँ, मधेश प्रदेशको ८ खर्ब ६३ अर्ब रुपैयाँ, गण्डकी प्रदेशको ५ खर्ब ९३ अर्ब रुपैयाँ, सुदूरपश्चिम प्रदेशको ४ खर्ब ६४ अर्ब रुपैयाँ तथा कर्णाली प्रदेशको २ खर्ब ७७ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ।

स्थिर मूल्यमा मापन गरिएको प्रादेशिक आर्थिक वृद्धिदरमध्ये बागमती प्रदेशको वृद्धिदर सबैभन्दा उच्च ५.४० प्रतिशत रहने अनुमान छ। गण्डकी प्रदेशको वृद्धिदर ५.०१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। विपरीत रूपमा मधेश प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। राष्ट्रिय आर्थिक वृद्धिदर भने ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

औद्योगिक वर्गीकरणअनुसार बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ भने अन्य सबै प्रदेशमा कृषि, वन तथा मत्स्य क्षेत्र प्रमुख योगदानकर्ता रहेका छन्। कोशी र मधेश प्रदेशमा व्यापार क्षेत्र दोस्रो ठूलो हिस्सासहित देखिएको छ। गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्र दोस्रो ठूलो योगदानकर्ता बनेको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर राष्ट्रिय स्तरमै सबैभन्दा उच्च २०.९३ प्रतिशत रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि यही क्षेत्रको वृद्धिदर सबैभन्दा बढी रहने प्रक्षेपण गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वित्तीय तथा बीमा सेवाको वृद्धिदर सबैभन्दा उच्च रहने अनुमान गरिएको छ।

मधेश प्रदेशमा कृषिक्षेत्रको वृद्धिदर ऋणात्मक अर्थात् -१.२६ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर पनि ऋणात्मक रहने उल्लेख गरिएको छ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनतर्फ बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ। चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय २६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १६५१ डलर, कोशी प्रदेशको १४१० डलर, लुम्बिनी प्रदेशको १२०८ डलर, सुदूरपश्चिम प्रदेशको ११७० डलर, कर्णाली प्रदेशको ११०८ डलर र मधेश प्रदेशको ९३४ डलर रहने अनुमान गरिएको छ।

राष्ट्रिय स्तरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५१३ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ। यसअनुसार बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम रहने देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया