जोमसोम–कागबेनी सडक स्तरोन्नतिको काम सुरु
- BFIS News
- 2026 May 21 11:49
मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम–कागबेनी सडकखण्डको स्तरोन्नति कार्य सुरु गरेको छ।
करिब सात करोड रुपैयाँ लागतमा नौ किलोमिटर सडकखण्ड सुधारको काम अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ।
राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत २०७६ सालअघि निर्माण सम्पन्न भएको जोमसोम–कोरला सडकखण्ड वर्षा, पहिरो तथा सडक संरक्षण संरचनाको अभावका कारण विभिन्न स्थानमा क्षतिग्रस्त भएपछि स्तरोन्नति सुरु गरिएको हो। गत वर्षको वर्षायाममा केही स्थानमा सडक भासिएको तथा ड्रेन र संरक्षण संरचना अभावले सडकमा थप क्षति पुगेको आयोजनाको भनाइ छ।
आयोजना प्रमुख तेजस्वी शर्मा का अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने सडकलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन स्तरोन्नतिको काम सुरु गरिएको हो। उनका अनुसार उक्त कार्यका लागि कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको छ।
निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापा ले वैशाखमा सम्झौता भएको परियोजनाको काम जेठ पहिलो साताबाट सुरु गरिएको जानकारी दिए। चार महिनाको अवधि रहेको उक्त आयोजना भदौ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाअन्तर्गत सडकमा ग्याविन वाल, मेसिनरी वाल, प्लम्प कङ्क्रिट तथा आरसिसी ढलान निर्माण गरिनेछ। साथै सडक संरक्षणका लागि ड्रेन तथा प्रोटेक्सन वाल नभएका क्षेत्रमा थप संरचना निर्माण गरिने जनाइएको छ।
जोमसोम नजिक वर्षाका कारण भासिएको सडक क्षेत्रमा ग्याविन वाल निर्माण गरिनेछ भने पान्डाखोला पुल आसपास आरसिसी ढलानको काम पनि गरिने निर्माण कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)





प्रतिक्रिया