पार्किङमै जलेर खरानी बन्यो बिवाईडी एटो ३, विद्युतीय सवारीको सुरक्षामाथि फेरि प्रश्न
- BFIS News
- 2026 May 21 15:09
काठमाडौँ । नेपाली अटो बजारमा लोकप्रिय बन्दै गएको चिनियाँ विद्युतीय सवारी ब्रान्ड बिवाईडी फेरि विवादमा तानिएको छ । मोरङको पथरी क्षेत्रमा पार्किङमा राखिएको बिवाईडी एटो ३ मा अचानक आगलागी भएपछि विद्युतीय सवारीको सुरक्षामाथि पुनः प्रश्न उठ्न थालेको हो ।
झापाको दमकबाट जन्ती लिएर मोरङको पथरी पुगेको उक्त गाडी गत मे ७ मा पार्किङमा राखिएकै अवस्थामा आगलागीमा परेको बताइएको छ । करिब १८ किलोमिटर यात्रा तय गरेपछि सडक छेउको सामुदायिक वन क्षेत्रमा रोकेर राखिएको गाडीमा केही समयपछि अचानक धुवाँ निस्किएको स्थानीयले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा गाडीको अगाडिल्लो भागबाट हल्का धुवाँ देखिएको थियो । चालकले ड्यासबोर्ड आसपासबाट धुवाँ आएको देखेपछि लो–भोल्टेज विद्युत् जडान छुट्याउने प्रयास गरेका थिए । तर त्यसपछि आगो झन् तीव्र बनेर केही मिनेटमै गाडीको अधिकांश भागमा फैलिएको बताइएको छ ।
स्थानीयवासीले पानी तथा अन्य साधन प्रयोग गरेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । आगो नियन्त्रणबाहिर जाँदा ठूलो आवाजसहित विस्फोटसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभए पनि गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
पार्किङमा राखिएको तथा इन्जिन बन्द अवस्थामा रहेको गाडीमा अचानक आगलागी भएको घटनाले विद्युतीय सवारीको सुरक्षा प्रणालीमाथि चिन्ता थपिएको छ ।
नेपालमा बिवाईडीको आधिकारिक वितरक Cimex Inc. ले भने प्रारम्भिक प्राविधिक परीक्षणमा उच्च–भोल्टेज ब्याट्री वा पावरट्रेन प्रणालीमा कुनै खराबी नदेखिएको दाबी गरेको छ । कम्पनीका अनुसार ब्लेड ब्याट्री, मोटर, ट्रान्समिसन तथा अन्य मुख्य विद्युतीय प्रणाली सुरक्षित अवस्थामा फेला परेको छ ।
कम्पनीले ब्याट्री प्याकमा कुनै ‘सर्ट सर्किट’, विद्युतीय असामान्यता वा ‘थर्मल रनअवे’ को संकेत नदेखिएको जनाएको छ । साथै घटनाको वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोलीमार्फत थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
पछिल्लो समय नेपाली बजारमा बिवाईडी सवारीसँग सम्बन्धित आगलागीका घटनाबारे चर्चा बढ्दै जाँदा उपभोक्ताले कम्पनीको गुणस्तर र सुरक्षा मापदण्डमाथि प्रश्न उठाउन थालेका छन् ।
हाल नेपाली बजारमा BYD Atto 3 को ‘एड्भान्स’ भेरियन्ट ५९ लाख ९९ हजार रुपैयाँ तथा ‘सुपेरियर’ भेरियन्ट ६७ लाख ८० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)
.jpg)




प्रतिक्रिया