बुटवल–पाल्पा सुरुङमार्ग असोजदेखि सञ्चालन गर्ने लक्ष्य, निर्माण प्रगति ६८ प्रतिशत
- BFIS News
- 2026 May 25 08:43
भैरहवा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोज महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र बनाइएको छ।
आयोजनाले सुरुङभित्रका संरचना, पहुँच सडक तथा सुरक्षा पूर्वाधार निर्माणको काम समानान्तर रूपमा अघि बढाएको जनाएको छ।
आयोजनाका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५८ प्रतिशत रहेको छ। पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना ‘इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ। उक्त मोडलअनुसार डिजाइनदेखि स्वीकृति र निर्माणसम्मको जिम्मेवारी निर्माण कम्पनीलाई दिइएको छ।
आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी असोजभित्र सुरुङमार्गबाट यातायात सञ्चालन गर्ने लक्ष्य राखेर काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी निर्माण कम्पनीले नै वहन गर्ने व्यवस्था गरिएको उनले बताए। त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) लागू हुनेछ।
आयोजनाको सुरुआती चरणमा कानुनी र प्राविधिक समस्याका कारण निर्माण प्रभावित भएको थियो। इपिसी मोडल नेपालमा नयाँ अभ्यास भएकाले कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा समस्या देखिएको आयोजनाले जनाएको छ। हाल ती समस्या समाधानको चरणमा रहेको र म्याद थप तथा निर्माणका विभिन्न ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।
सुरुङमार्गसँगै पहुँच सडक निर्माणको काम पनि भइरहेको छ। पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको आयोजनाले जनाएको छ। सुरुङमार्ग सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ निर्माण तथा भिर संरक्षणको काम गरिने योजना छ। पैदलयात्रीका लागि सुरक्षित मार्ग निर्माण र बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनको कामसमेत गरिने उल्लेख गरिएको छ।
आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता भएको थियो। पहिरो र भूक्षयको उच्च जोखिम रहेको सिद्धार्थ राजमार्गको उक्त खण्डमा सुरक्षित यातायात सुनिश्चित गर्ने तथा जनधनको क्षति कम गर्ने उद्देश्यले सुरुङमार्ग निर्माण भइरहेको आयोजनाले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया