सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति सारियो, जेठ १८ गतेदेखि आवेदन खुल्ने
- BFIS News
- 2026 May 26 10:25
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले सर्वसाधारणका लागि जारी गर्न लागेको आईपीओको निष्काशन मिति परिवर्तन गरेको छ।
यसअघि जेठ १४ गतेदेखि बिक्री खुला गर्ने तय भए पनि सरकारले बकर ईदको सार्वजनिक बिदा घोषणा गरेपछि कम्पनीले नयाँ मिति तय गरेको हो।
कम्पनीका अनुसार अब सर्वसाधारणका लागि आईपीओ जेठ १८ गतेदेखि खुला हुनेछ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भइसकेको छ।
कम्पनीले कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरी बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।
त्यस्तै, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर भने अब सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा ल्याइनेछ। प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म खुला रहने जनाइएको छ।
इक्रा नेपाल ले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाएको छ।
कम्पनीले निर्माण गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको अनुमानित लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको उल्लेख गरिएको छ।
कम्पनीका अनुसार आयोजनामा गरिएको लगानीको साधारण फिर्ता अवधि ८.२५ वर्ष रहेको छ भने छुट दरमा गणना गरिएको लगानी फिर्ता अवधि १४.६९ वर्ष रहनेछ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)




प्रतिक्रिया