Nepal Life

इटहरीमा ४ हजार क्षमताको रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माण हुने, वित्तीय व्यवस्थापन सम्पन्न

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 11 12:43
इटहरीमा ४ हजार क्षमताको रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माण हुने, वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । सुनसरीको इटहरीमा चार हजार जनासम्म अट्न सक्ने क्षमताको रिसोर्टसहितको सम्मेलन केन्द्र निर्माण हुने भएको छ।

Nepal Life
NIMB

‘विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ नाम दिइएको परियोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापन प्रक्रिया पूरा भएको जनाइएको छ।

परियोजना प्रवर्द्धक एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अनुसार इटहरीमा निर्माण हुन लागेको रिसोर्ट तथा सम्मेलन केन्द्रका लागि ऋण व्यवस्थापन (लोन सिन्डिकेसन) सम्पन्न भएको छ। परियोजनाको वित्तीय व्यवस्थापनमा एभरेष्ट बैंक लिमिटेडले प्रमुख बैंकको भूमिका निर्वाह गरेको छ भने मुक्तिनाथ विकास बैंकले सहकार्य गरेको जनाएको छ।

परियोजनाको नेतृत्व एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले गर्नेछन्। बस्नेतले यसअघि काठमाडौंमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘मर्क्योर’ तथा इटहरीमा ‘रमाडा बाइ विन्धम’ होटल सञ्चालनमा ल्याएका छन्।

निर्माण हुन लागेको सम्मेलन केन्द्र तथा रिसोर्टले ठूला व्यावसायिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी तथा वैवाहिक समारोह आयोजना गर्न सक्ने पूर्वाधार उपलब्ध गराउने अपेक्षा गरिएको छ। परियोजनाले पूर्वी नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूसँग जोडिएका पर्यटन गतिविधिलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

परियोजनाका प्रवर्द्धकहरूले भारत, भुटान तथा बंगलादेशसँगको भौगोलिक निकटता र पूर्वी नेपालको विकसित हुँदै गएको पूर्वाधारलाई ध्यानमा राखेर उक्त केन्द्र निर्माण गर्न लागिएको बताएका छन्। उनीहरूका अनुसार सम्मेलन पर्यटन तथा व्यावसायिक गतिविधि विस्तारमा यसले योगदान पुर्‍याउन सक्छ।

परियोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने तथा स्थानीय उत्पादन र सेवा क्षेत्रको माग बढ्न सक्ने अपेक्षा गरिएको छ।

परियोजनाका व्यवस्थापक प्रभात कार्कीले पूर्वी नेपाललाई क्षेत्रीय पर्यटन तथा व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन अवधारणाअन्तर्गत यो परियोजना अघि बढाइएको बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया