NIMB Header 2
Nepal Life

जीवन बीमामा परम् सद्विश्वासको सिद्धान्तको भूमिका, रञ्जिता केसीको लेख

IME LIFE
  • रञ्जिता केसी
  • 2026 Jun 13 12:59
जीवन बीमामा परम् सद्विश्वासको सिद्धान्तको भूमिका, रञ्जिता केसीको लेख
United Ajod

काठमाडौं। कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करारलाई जीवन बीमा सम्झनु पर्दछ ।

Nepal Life
NIMB

निस्चित बीमाशुल्क भुक्तानी गरी बीमक र बीमित बीच सम्झौता बमोजिम जोखिम बहन गर्ने शर्तमा गरिने लिखित सम्झौता भएको हुँदा जीवन बीमालेखको सिद्धान्त तथा अभ्यास अनुसार बीमालेखमा उल्लेखित शर्त तथा बन्देजहरु बीमा करारका दुवै पक्षलाई बाध्यकारी हुने गर्दछ । बीमा अवधि भित्र जिवन बीमा गराउने व्यक्तिको बीमालेख करार बमोजिमका जोखिमहरुको रक्षावरण हुने तथा बीमा समाप्ती हुने मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएको बीमालेखको शर्तहरुको अधीनमा रही बीमाङ्ग भुक्तानी गर्नु पर्ने हुन्छ ।

यसर्थ जीवन बीमा गर्दा बीमाको परम् सविश्वासको सिद्धान्तको मुख्य भूमिका राख्छ । जीवन बीमा गर्दा मुलभुत रुपमा आफूलाई ज्ञान भएको र बीमा कम्पनीले प्रस्ताव फाराममा उल्लेख गर्नु भनी सोधिएका प्रश्नको जवाफ पूर्ण सत्य तथ्य उद्घोष गर्नु पर्ने हुन्छ ।

बीमाका अन्य प्रचलित सिद्धान्त मध्ये जीवन बीमामा 'परम् स‌द्भावको सिद्धान्त' (Principle of Utmost Good Faith) एक आधारभूत कानुनी र नैतिक स्तम्भ हो। यसलाई ल्याटिन भाषामा Uberrimae Fidei भनिन्छ। यसको शाब्दिक अर्थ र मर्म भनेको बीमामा दुवै पक्ष (बीमित तथा बीमक) ले एकअर्कालाई बीमालाई तात्विक असर पार्न सक्ने तथ्य (Material Fact) पूर्ण र साँचो विवरण दिनुपर्ने भन्ने हो। यो सिद्धान्तले बीमा गर्ने व्यक्ति (बीमित) र बीमा कम्पनी (बीमक) बीच पूर्ण पारदर्शिता कायम भएको अवस्थामा मात्र बैज (Valid) बीमा करार भएको मान्दछ ।

बीमकले तयार गरेको बीमा प्रस्ताव फाराममा सोधिएका विविध प्रश्नहरुको जवाफ भर्दा बीमा गर्न चाहाने व्यक्तिले आफ्नो स्वास्थ्य, उमेर, पेशा, र जीवनशैली लगायत अन्य सोधिएका सम्बन्धित प्रश्नको जवाफ 'तात्विक तथ्य' (Material Facts) हरू स्पष्ट रूपमा खुलाउनुपर्छ भने अर्का तर्फ बीमा कम्पनीले पनि पोलिसीका सर्तहरू, सुविधाहरू, र दाबी नपाइने अवस्थाहरू (Exclusions) को बारेमा ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्छ।

'तात्विक तथ्य भन्नाले अघिल्लो स्वास्थ्य इतिहास वा शल्यक्रिया सम्बन्धी व्यवस्था, वंशानुगत रोगहरूको विवरणहरु, जोखिमपूर्ण पेशा ( जस्तै. खानीमा काम गर्ने वा पर्वतारोहण), मद्यपान वा धूम्रपानको लतको विवरण, अन्य कम्पनीमा गरिएको बीमाको विवरण लगायत बीमा कम्पनीमा पेश हुने प्रस्ताव फारममा सोधिएका प्रश्नहरु, व्यतिगत स्वास्थ विवरणमा उद्घोष गराईएका प्रश्नहरु रहन्छ ।

यी प्रश्नहरु यतिकै सोधिएका जस्तो लाग्दछ तर यहाँ उल्लोष गराईएका प्रश्नहरु दावी सँग समेत सम्बन्ध राख्ने भएकोले उक्त तथ्यको जवाफ दिँदा बीमित आफैले जानकार भई सहमती जनाई सत्य तथ्य विवरण खुलाई बीमाको शर्तको अध्ययन गरी दिनु पर्नेछ । यसरी जवाफ दिएको खण्डमा बीमकबाट जोखिमाङ्कन भई सोही बमोजिम बीमाशुल्क भुक्तानी भई बीमालेख र पुरक करार भएको अवस्थामा दावी पनि सहज हुन जान्छ ।

यदि कुनै व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था (जस्तै. मुटुको रोग, मधुमेह, वा धूम्रपानको बानी) लुकाएर जीवन बीमा गरेमा र सोही लुकाईएको व्यहोराको कारणबाट बीमितलाई बीमा अवधि भित्र कुनै भवितव्य भएमा दाबी भुक्तानीमा समस्या आउन सक्ने हुन्छ । बीमितले जानाजानी गलत मनसायले गलत विवरण दिएको प्रमाणित भएमा बीमा कम्पनीले बीमालेख रद्द गर्न वा दाबी अस्वीकार गर्न सक्छ। तसर्थ जीवन बीमालाई विश्वास योग्य बनाउन परम् सदविश्वासको आधारमा बीमितले आफ्नो जानकारीमा भएको सम्पूर्ण विवरणहरु सत्य तथ्य खुलाउनु पर्दछ । सहजै दावी प्राप्त गर्न, बीमित स्वयंलाई कानूनी सुरक्षा प्रदान गर्न र बीमालेखको बैद्धता कायम गर्न यस सिद्धान्तको महत्वपूर्ण भूमिका रहन्छ ।

बीमा ऐन, २०७९ को दफा ६२ बीमा करारको व्यवस्था गरेको छ जसमा बीमितले बीमाको लागि गर्ने प्रस्ताव, बीमालेख, सोको अनुसूची तथा सो सम्बन्धमा जारी भएको सम्पुष्टिहरु बीमा करारको अभिन्न अंग मानिनेछ र बीमा करार गर्दा बीमक तथा बीमितले प्रस्तावित जोखिम सम्बन्धी तथ्यपरक जानकारी स‌विश्वासको आधारमा एक अर्कालाई स्पष्ट रुपमा जानकारी गराउनु पर्नेछ भनी उल्लेख गरेको छ । उक्त व्यवस्थाले बीमक तथा बीमितलाई भए गरेको सोधिएका प्रश्नको जवाफ स्पष्ट रुपमा गराई मात्र बीमा करारका दुवै पक्षलाई दायित्व बहन गराईएको ।

जीवन बीमा भनेको भविष्यको अनिश्चितता विरुद्धको सुरक्षा हो। नेपाल जस्तो विकासोन्मुख देशमा बीमा सम्बन्धी साक्षरता कम भएकोले, 'परम् सद्भावको सिद्धान्त' पालना गर्नु झनै आवश्यक छ। बीमितले प्रिमियम तिर्नु र जोखिम बहन गर्ने गरी बीमालेख लिने मात्र होइन, बीमितले सही जानकारी दिएर आफ्नो र परिवारको भविष्य सुरक्षित गर्नु पर्छ भन्ने सबैलाई जानकारी हुनु पर्ने हुन्छ।

(लेखक रञ्जिता केसी नेपाल बीमा प्राधिकरणको उपनिर्देशक (कानून) हुन्।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया