NIMB Header 2
Nepal Life

रास्वपाको महाधिवेशनमा स्वर्णिम वाग्ले : ‘आक्रोशलाई निर्माण र विद्रोहलाई रूपान्तरणमा बदल्नुपर्छ’

IME LIFE
  • BFIS News
  • 2026 Jun 21 16:45
रास्वपाको महाधिवेशनमा स्वर्णिम वाग्ले : ‘आक्रोशलाई निर्माण र विद्रोहलाई रूपान्तरणमा बदल्नुपर्छ’
United Ajod

चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भिक बिन्दुका रूपमा व्याख्या गर्दै निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ र संरक्षणवादबाट प्रतिस्पर्धातर्फ अघि बढ्नुपर्ने बताएका छन्।

Nepal Life
NIMB

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा मन्तव्य व्यक्त गर्दै वाग्लेले पार्टी कुनै राजनीतिक विभाजन वा अप्राकृतिक सम्झौताबाट नभई नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको आकांक्षाको राजनीतिक अभिव्यक्तिका रूपमा जन्मिएको बताए।

उनले लोकतन्त्र, संविधान र समावेशिताजस्ता उपलब्धिहरूको सम्मान गर्नुपर्ने उल्लेख गर्दै ती उपलब्धिहरूलाई संस्थागत रूपमा बलियो बनाउन नसक्दा मुलुकले अपेक्षित परिणाम हासिल गर्न नसकेको धारणा राखे। “निर्वाचन धेरै भए तर उत्तरदायित्व कमजोर रह्यो, संविधान बन्यो तर संस्थाहरू बलिया भएनन्, अधिकार बढे तर सार्वजनिक सेवाको गुणस्तर सुधारिएन,” उनले भने।

वाग्लेले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना रहेको तर्क गरे। उनका अनुसार राजनीतिमा इमानदार मानिसलाई प्रवेश गर्न कठिन हुने र पहुँच भएकालाई सफल हुन सजिलो हुने व्यवस्था विकसित भएको छ। व्यवसायमा नवप्रवर्तनभन्दा शक्ति केन्द्रसँगको निकटता लाभदायक बन्ने प्रवृत्तिले समग्र शासन प्रणालीलाई कमजोर बनाएको उनको भनाइ थियो।

उनले रास्वपाको लक्ष्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको स्पष्ट पारे। “हामी विवेक, विधि र नियममा आधारित शासनतर्फ जान चाहन्छौँ। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ र नागरिक केन्द्रित लोकतन्त्रतर्फ अघि बढ्न चाहन्छौँ,” उनले भने।

रास्वपाले आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनेभन्दा नेपाललाई जिताउने उद्देश्य बोकेको उल्लेख गर्दै वाग्लेले पार्टीको शक्ति केवल आक्रोशमा सीमित हुन नहुने बताए। उनका अनुसार पार्टीले आलोचनासँगै विकल्प, विद्रोहसँगै निर्माण र आन्दोलनसँगै संस्थागत क्षमताको विकास गर्नुपर्ने आवश्यकता छ।

उनले रास्वपा आन्दोलनमुखी दलबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरणको चरणमा प्रवेश गरेको उल्लेख गर्दै नयाँ पुस्ताले प्रश्न मात्र नभई समाधान दिन, विरोध मात्र नभई शासन सञ्चालन गर्न र सपना मात्र नभई परिणाम दिन सक्ने क्षमता प्रमाणित गर्नुपर्ने बताए।

मुलुकको भावी दिशाबारे धारणा राख्दै वाग्लेले रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना गरेको बताए। उनले निर्वाचनबाट सरकार बन्ने तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राख्ने लोकतान्त्रिक प्रणाली आवश्यक रहेको उल्लेख गरे।

अर्थतन्त्रको सन्दर्भमा उनले पहुँचभन्दा क्षमता सफलताको आधार बन्नुपर्ने बताए। आसेपासे पुँजीवाद वा विकृत समाजवादभन्दा उद्यमशीलता, प्रतिस्पर्धा र परिश्रममार्फत समृद्धि हासिल गर्नुपर्ने उनको धारणा थियो।

सामाजिक न्यायका विषयमा बोल्दै वाग्लेले कुनै नागरिकको भविष्य उसको जात, थर, भाषा, भूगोल वा आर्थिक पृष्ठभूमिले नभई प्रतिभाले निर्धारण हुने समाज निर्माण गर्नुपर्ने बताए। त्यस्तै राज्यले नागरिकमाथि शासन गर्ने होइन, सेवा गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।

उनले युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य नहुने, किसान र श्रमिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने तथा उद्यमीले भयमुक्त वातावरणमा लगानी गर्न सक्ने नेपाल निर्माणको लक्ष्य प्रस्तुत गरे।

भाषणको अन्त्यमा वाग्लेले वर्तमान पुस्ताले इतिहासले दिएको अवसरको सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै रास्वपाको प्रथम महाधिवेशन संगठनात्मक कार्यक्रम मात्र नभई नयाँ राजनीतिक संस्कारको सुरुआत बन्न सक्ने विश्वास व्यक्त गरे।

“निराशालाई आशामा बदलौँ, आक्रोशलाई निर्माणमा बदलौँ र विद्रोहलाई रूपान्तरणमा बदलौँ,” उनले भने, “उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी नेपाल निर्माणको यात्राको प्रारम्भिक पाइला यही चितवनबाट चालौँ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार