नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले लिए पद तथा गोपनीयताको शपथ
- BFIS News
- 2026 Jun 29 11:04
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई शपथ गराएका हुन्।
मन्त्रिपरिषद्को असार ५ गतेको निर्णयअनुसार डा. भट्ट नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।
शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारको नियमनलाई प्रभावकारी बनाउँदै लगानीकर्ताको हित र लगानी सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए। उनले कुनै पनि प्रकारको प्रभाव, लोभ वा प्रलोभनबाट मुक्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले पुँजी बजारमार्फत लगानी परिचालन बढाई आर्थिक वृद्धिमा योगदान पुर्याउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न पनि उनले निर्देशन दिए।
बजारमा फैलिने आधारहीन हल्लाका कारण साना लगानीकर्ता प्रभावित हुने गरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यस्ता गतिविधिलाई नियन्त्रण गर्दै बजारप्रतिको विश्वास अभिवृद्धि गर्न बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले नतिजामुखी ढंगले काम गर्न र बजारको अवस्थाबारे नियमित रूपमा मन्त्रालयलाई जानकारी गराउन पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।
शपथपछि प्रतिक्रिया दिँदै अध्यक्ष डा. भट्टले सरकारको नीति र उद्देश्यअनुसार पुँजी बजारको विकास तथा सुदृढीकरणका लागि निष्पक्ष र इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो अनुभव, ज्ञान र दक्षतालाई लगानीकर्ताको हित संरक्षण तथा मुलुकको आर्थिक विकासमा केन्द्रित गर्ने बताए। साथै, पुँजी बजार सुधारका लागि यसअघि भएका अध्ययन तथा सुझावलाई कार्यान्वयन गर्दै बजारको विकास र नियमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया