NIMB Header 2
Nepal Life

मन्त्रालय घटाउँदा वार्षिक २० अर्ब बचत हुने सरकारको दाबी, १०० दिने उपलब्धि सार्वजनिक

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 04 17:35
मन्त्रालय घटाउँदा वार्षिक २० अर्ब बचत हुने सरकारको दाबी, १०० दिने उपलब्धि सार्वजनिक
IME LIFE

काठमाडौं, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै सङ्घीय मन्त्रालयको सङ्ख्या घटाउँदा राज्य कोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने दाबी गरेको छ।

Nepal Life
NIMB

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्दै मन्त्रालयको सङ्ख्या घटाउनु सरकारको प्रमुख प्रशासनिक सुधारमध्ये एक भएको बताए।

प्रवक्ता पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी घोषणापत्रअनुसार सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको छ। मन्त्रालयहरूको पुनर्संरचनासँगै प्रशासनिक खर्च उल्लेखनीय रूपमा घट्ने र राज्य कोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको उनले बताए।

उनले मन्त्रालयको सङ्ख्या घटाउने निर्णयले खर्च नियन्त्रण मात्र नभई सरकारको कार्यसम्पादनलाई थप चुस्त, प्रभावकारी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रवक्ता पोखरेलले मन्त्रालय पुनर्संरचनासँगै विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार अनावश्यक संरचनाहरू हटाउने, खर्च कटौती गर्ने तथा सरकारी संयन्त्रको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सुधारका कार्यक्रम सञ्चालन गरिएको छ।

त्यसैगरी राजनीतिक दल निकटका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनहरूको खारेजीलगायतका सुधारात्मक कदमले सार्वजनिक प्रशासनमा सकारात्मक सन्देश गएको सरकारको दाबी छ।

सरकारले १०० दिने अवधिमा प्रशासनिक सुधार, खर्च नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय काम भएको जनाएको छ। पत्रकार सम्मेलनमार्फत आगामी दिनमा पनि यस्ता सुधारलाई निरन्तरता दिँदै राज्य संयन्त्रलाई थप चुस्त र परिणाममुखी बनाइने सरकारको प्रतिबद्धता व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया