घरजग्गा कारोबारमा सुधार, कारोबार रकम १८३ अर्ब नाघ्यो
- BFIS News
- 2026 Jul 07 08:34
काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान अवस्थासम्बन्धी अध्ययनअनुसार कारोबार संख्या, कारोबार मूल्य, राजस्व संकलन तथा पुँजीगत लाभकर सबै सूचकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा देशभर घरजग्गाको कुल कारोबार संख्या ६.४२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो। लिखत पारित अन्तर्गत कुल कारोबार ०.६२ प्रतिशतले बढ्दा राजीनामा कारोबार संख्या १२.१७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको तेस्रो त्रैमासमा राजीनामा कारोबार ३.२६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा कारोबार क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो।
घरजग्गा कारोबार मूल्यमा ठूलो छलाङ
नेपाल राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमासमा कुल रु. १८३ अर्ब ९० करोड बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम रु. १०० अर्ब ७ करोड मात्र रहेको थियो। यसले घरजग्गा कारोबारको कुल मूल्यमा उल्लेखनीय विस्तार भएको देखाउँछ।
त्यस्तै, घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले वृद्धि भएको छ भने पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा राजस्व १३.४७ प्रतिशत र पुँजीगत लाभकर १८.३१ प्रतिशतले बढेको थियो।
यस अवधिमा आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा ७.५२ प्रतिशतले बढेको थियो।
बागमतीमा सबैभन्दा उच्च वृद्धि, मधेशमा गिरावट
प्रदेशगत विश्लेषणअनुसार बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ। विपरीत रूपमा मधेश प्रदेशमा भने यस्तो कारोबार ४.७९ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा राजीनामा कारोबार वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
कारोबार भएको कुल क्षेत्रफलको हिसाबले गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशत वृद्धि भएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ।
घरजग्गा कारोबारको कुल मूल्य भने सातै प्रदेशमा बढेको छ। बागमती प्रदेशमा कारोबार मूल्य सबैभन्दा धेरै १३१.५२ प्रतिशतले बढ्दा मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशत वृद्धि भएको छ।
प्रतिवेदनअनुसार सातै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरूको कारोबार सबैभन्दा बढी भएको छ। अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा भने २० आनाभन्दा बढी क्षेत्रफलका प्लटहरूको कारोबार सबैभन्दा धेरै भएको थियो।
काठमाडौं महानगरमा दोब्बरभन्दा बढी कारोबार वृद्धि
महानगरपालिकास्तरको तथ्याङ्कले काठमाडौं महानगरपालिकामा सबैभन्दा तीव्र सुधार देखाएको छ। समीक्षा अवधिमा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ।
त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत, विराटनगरमा २७.९२ प्रतिशत र वीरगञ्जमा २१.०७ प्रतिशतले कारोबार संख्या बढेको छ।
कारोबार भएको कुल क्षेत्रफल पनि सबै महानगरपालिकामा बढेको छ। काठमाडौंमा सबैभन्दा धेरै ११९.८९ प्रतिशत वृद्धि हुँदा भरतपुरमा सबैभन्दा कम २९.२१ प्रतिशत वृद्धि भएको छ।
त्यस्तै, घरजग्गा कारोबारको कुल मूल्य सबै महानगरपालिकामा बढेको छ। काठमाडौं महानगरपालिकामा कारोबार मूल्य २२३.१२ प्रतिशतले वृद्धि भई सबैभन्दा उच्च वृद्धि दर्ज भएको राष्ट्र बैंकले जनाएको छ।
उपमहानगरपालिकामा बुटवल र तुलसीपुर अग्रस्थानमा
उपमहानगरपालिकामध्ये कलैया बाहेक सबै क्षेत्रमा घरजग्गा कारोबार संख्या बढेको छ। बुटवल उपमहानगरपालिकामा कारोबार संख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढ्दा कलैयामा भने ६.९५ प्रतिशतले घटेको छ।
कारोबार भएको कुल क्षेत्रफल तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै ४२.७४ प्रतिशतले बढेको छ। नेपालगञ्ज उपमहानगरपालिकामा भने कारोबार क्षेत्रफल ६८.२९ प्रतिशतले घटेको छ।
घरजग्गा कारोबारको कुल मूल्य भने सबै ११ उपमहानगरपालिकामा वृद्धि भएको छ। तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै १३४.४६ प्रतिशतले कारोबार मूल्य बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाल राष्ट्र बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभागको घरजग्गा कारोबार तथ्याङ्क तथा बैंकिङ प्रणालीबाट प्रवाह भएको रियल इस्टेट कर्जासम्बन्धी तथ्याङ्कका आधारमा तयार पारेको अध्ययनले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घरजग्गा बजारमा क्रमिक सुधार देखिएको निष्कर्ष प्रस्तुत गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया