पुँजी बजारको मनोबल किन खस्कियो? लगानीकर्ताको प्रतिक्रिया : सरकारको शैली र राजनीतिक कारण सबैभन्दा धेरै
- BFIS News
- 2026 Jul 09 16:47
काठमाडौं । पछिल्ला केही वर्षयता नेपालको पुँजी बजार निरन्तर दबाबमा छ। दीर्घकालीन लगानीकर्ताको पोर्टफोलियो उल्लेख्य रूपमा घटेको छ भने अल्पकालीन लगानीकर्ताले समेत अपेक्षित प्रतिफल प्राप्त गर्न सकेका छैनन्। पछिल्लो राजनीतिक परिवर्तनपछि पनि बजारले अपेक्षित गति लिन नसकेपछि लगानीकर्ताबीच यसको कारणबारे व्यापक बहस सुरु भएको छ। बजार विश्लेषक अम्बिका प्रसाद पौडेलको 'समग्र ब्यवसायिक क्षेत्र अझ बढि पुँजी बजारको मनोबल घट्नुको कारण के होला जस्तो लाग्छ तपाईलाई ?' भन्ने प्रश्नमा लगानीकर्ताले सरकारको शैली र राजनीतिक कारणलाई सबैभन्दा धेरै औल्याएका छन्।
उनीहरूका प्रतिक्रियामा राजनीतिक अवस्था, सरकारी नीति, निजी क्षेत्रप्रतिको दृष्टिकोण, नियामकीय हस्तक्षेप, कर व्यवस्था, बजारको संरचनागत समस्या तथा लगानीकर्ताको मनोविज्ञान मुख्य विषयका रूपमा देखिएका छन्।
धेरै लगानीकर्ताले सरकारको नीतिगत स्पष्टता अभाव, निजी क्षेत्रमाथिको कडाइ र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानको प्रभावले बजारमा अनिश्चितता बढाएको बताएका छन्। उनीहरूको बुझाइमा सरकारी निर्णय र भविष्यका नीतिबारे स्पष्ट संकेत नहुँदा ठूलो लगानी बजारमा प्रवेश गर्न सकिरहेका छैनन्। केहीले सरकारी निकायबाट हुने धरपकड र अनुसन्धानको वातावरणले व्यवसायिक समुदाय तथा ठूला लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।
अर्कोतर्फ, केही लगानीकर्ताले बजारको कमजोरीलाई विगतको अपारदर्शी अभ्याससँग जोडेर हेरेका छन्। उनीहरूको भनाइमा विगतमा मिलेमतो, बिचौलियापन, पम्प एन्ड डम्प तथा इन्साइडर गतिविधिबाट प्रभावित भएको बजारमा अहिले त्यस्ता अभ्यासमाथि नियन्त्रणको प्रयास भइरहेकाले केही समूह असहज भएको हो। उनीहरूले वास्तविक लगानीकर्ता दीर्घकालमा लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।
राजनीतिक पक्ष पनि प्रतिक्रियाको अर्को प्रमुख विषय बनेको छ। केही लगानीकर्ताले नयाँ सरकारप्रति विश्वास कमजोर भएको, सरकारका घोषणा र कार्यान्वयनबीच अन्तर देखिएको तथा निजी क्षेत्रसँग सम्बन्धित निर्णयले लगानीको वातावरण प्रभावित भएको टिप्पणी गरेका छन्। विपरीत धारणा राख्नेहरूले भने बजारको कमजोरीलाई राजनीतिक रूपमा व्याख्या गरिनु उपयुक्त नहुने र केही समूहले सरकारमाथि दबाब सिर्जना गर्न नियोजित रूपमा नकारात्मक वातावरण बनाइरहेको दाबी गरेका छन्।
आर्थिक र संरचनागत कारणलाई महत्व दिने प्रतिक्रियाहरू पनि उल्लेख्य छन्। धेरैले पुँजी बजारमा लगातार नयाँ आईपीओ, संस्थापक शेयरको बिक्री, बढ्दो आपूर्ति, सीमित तरलता तथा पूँजीको अन्य क्षेत्रमा स्थानान्तरणले बजारमाथि दबाब परेको बताएका छन्। केहीले बजारको वर्तमान सूचकांक अझै पनि धेरै कम्पनीको वास्तविक वित्तीय अवस्थासँग मेल नखाने तर्क गर्दै कम्पनीको आधारभूत अवस्था कमजोर रहेसम्म बजारमा उत्साह फर्कन कठिन हुने धारणा व्यक्त गरेका छन्।
कर नीतिलाई लिएर पनि असन्तुष्टि देखिएको छ। विशेषगरी पुँजीगत लाभकर वृद्धि भएपछि कारोबारमा असर परेको र लगानीकर्ताको आकर्षण घटेको प्रतिक्रिया आएको छ। केहीले करको दर घटाएर कारोबारको दायरा विस्तार गर्न सके राजस्व पनि बढ्न सक्ने सुझाव दिएका छन्।
यससँगै नियामकीय सुधार, पारदर्शिता र विश्वास पुनःस्थापनाको आवश्यकता औँल्याउने धारणा पनि बलियो देखिएको छ। उनीहरूका अनुसार बजारको दीर्घकालीन सुधारका लागि स्पष्ट नीति, प्रभावकारी नियमन, पूर्वानुमानयोग्य कर व्यवस्था, निजी क्षेत्रप्रति विश्वास निर्माण तथा आर्थिक गतिविधिमा सुधार अपरिहार्य छ। अहिले धेरै लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहेको उनीहरूको निष्कर्ष छ।
लगानीकर्ताका प्रमुख प्रतिक्रिया
सन्तोष क्षेत्रीले विगतमा मिलेमतोमा कारोबार हुने गरेको र अहिले त्यस्तो सेटिङ कमजोर भएकाले बजारमा मनोबल घटेको हुन सक्ने धारणा व्यक्त गरेका छन्।
साजन शर्माका अनुसार कमजोर कम्पनीहरूले आईपीओ र हकप्रद शेयरमार्फत सर्वसाधारणको लगानी तानेपछि बजारमा दबाब बढेको छ भने धेरै कम्पनीको प्रतिशेयर आम्दानी (DPS) कमजोर देखिएकाले लगानीकर्ता अझै सतर्क बनेका छन्।
बिक्रान्त पौडेलले बजारमा अत्यधिक आईपीओ, प्रवर्द्धक समूहबाट शेयर बिक्री (Promoter Dumping) तथा अन्य वैकल्पिक लगानीतर्फ पूँजी जानुले नेप्सेमा तरलता अभाव भएको बताएका छन्।
सुरेन्द्र गिरीले नीतिगत सहयोगको अभाव तथा निजी क्षेत्रमाथिको कडाइले व्यवसायिक क्षेत्र र पुँजी बजार दुवै प्रभावित भएको टिप्पणी गरेका छन्।
सुशील बानले सरकारप्रतिको विश्वास कमजोर हुनु, निजी क्षेत्रमाथिको धरपकड, नीतिगत अन्योल, पुँजीगत खर्च कम हुनु तथा लगानीमैत्री वातावरण नबन्नु बजारको मनोबल खस्किनुका प्रमुख कारण भएको बताएका छन्।
सञ्जीता नेपालले सरकारको वर्तमान र भविष्यको कार्ययोजनाप्रति अन्योल, सरकारी हस्तक्षेपको डर तथा देशको भविष्यप्रतिको अनिश्चितताले लगानीकर्ताको आत्मविश्वास घटाएको उल्लेख गरेकी छन्।
हेमलाल शर्माले ठूलो राजनीतिक, नीतिगत वा संरचनात्मक परिवर्तन प्रारम्भिक चरणमा पुराना सरोकारवालाले सहज रूपमा स्वीकार नगर्ने भएकाले विश्वास निर्माण हुन समय लाग्ने बताएका छन्।
सन्तोष कुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण अभियानको प्रभावसँगै पूँजीगत लाभकर (Capital Gains Tax) बढाइएको निर्णयले बजारमा थप दबाब सिर्जना गरेको उल्लेख गर्दै कर पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।
सागर थापाले बिचौलियापन, अपारदर्शिता र कमजोर नियामकीय कार्यान्वयनका कारण लगानीकर्ताको विश्वास कमजोर भएको बताएका छन्। उनका अनुसार अधिकांश लगानीकर्ता अहिले स्पष्ट नीतिगत दिशा र पारदर्शी नियमनको प्रतीक्षामा 'वेट एन्ड सी' अवस्थामा छन्।
शरद अधिकारीले धेरै लगानीकर्ताको लगानी स्रोतबारे छानबिन हुने त्रासका कारण पनि बजारमा मनोबल घटेको टिप्पणी गरेका छन्।
दीपक श्रेष्ठले बजारमा अझै पनि वास्तविक वित्तीय अवस्था कमजोर भएका धेरै कम्पनी रहेको भन्दै अहिलेको मूल्यांकनबारे पुनर्विचार आवश्यक रहेको बताएका छन्।
ऋषि गौतमले बजारमा अनावश्यक त्रास फैलिएको हुन सक्ने धारणा व्यक्त गरेका छन्। ध्रुव प्रसाद सापकोटाले विगतमा 'पम्प एन्ड डम्प' प्रवृत्तिमा सक्रिय खेलाडीहरू अहिले त्यस्तो गतिविधि गर्न नसक्दा बजारमा दबाब देखिएको टिप्पणी गरेका छन्।
केही लगानीकर्ताले भने बजारमा आएको दबाबलाई सरकारको कडाइ र वित्तीय अनुशासनसँग जोडेर सकारात्मक रूपमा व्याख्या गरेका छन्।
सुमन दाहालले बिचौलियामाथिको कारबाहीका कारण बजारमा मनोबल घटेको देखिए पनि पुरानो प्रवृत्ति हट्न समय लाग्ने बताएका छन्।
विशाल कडरियाले सरकारले ठगी र अनियमिततामाथि नियन्त्रण गर्न खोजेकाले केही समूहले नियोजित रूपमा नकारात्मक वातावरण बनाएको दाबी गरेका छन्।
सजक थापाले सम्पत्ति शुद्धीकरण तथा धरपकड अभियानको प्रभाव बजारमा परेको उल्लेख गरेका छन्। अर्को प्रतिक्रियामा उनले कालो धनको प्रभाव घटेकाले बजार तल आउनु स्वाभाविक भएको बताएका छन्।
अशोक बहादुर टण्डनले बजारको विगतको अस्वाभाविक वृद्धिप्रति व्यंग्य गर्दै अहिलेको अवस्था स्वाभाविक हुन सक्ने टिप्पणी गरेका छन्।
अच्युत चन्द्रले वित्तीय अपराध र बिचौलियामाथिको कारबाहीका कारण केही समय बजार प्रभावित भए पनि यसले दीर्घकालमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका छन्।
यी प्रतिक्रियाले समग्रमा लगानीकर्ताहरू दुई धारमा विभाजित रहेको देखाउँछन्। एक पक्षले नीतिगत अनिश्चितता, कर, तरलता र निजी क्षेत्रप्रतिको सरकारी दृष्टिकोणलाई बजार कमजोर हुनुको कारण मानेको छ भने अर्को पक्षले बिचौलिया, कालो धन र वित्तीय अनियमिततामाथिको कारबाहीलाई अस्थायी दबाबको कारणका रूपमा व्याख्या गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया