प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत डिबेञ्चरमा आवेदन दिने आज अन्तिम दिन
- BFIS News
- 2026 Jul 07 10:28
काठमाडौं। Prime Commercial Bank ले निष्काशन गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा लगानीकर्ताले आवेदन दिन पाउने अवधि आज असार २३ गते बैंकिङ समयसम्म मात्रै रहने भएको छ।
बैंकले मागभन्दा बढी आवेदन प्राप्त भइसकेकाले आज बैंकिङ समय समाप्त भएपछि आवेदन संकलन तथा बिक्री प्रक्रिया बन्द गरिने जनाएको छ।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित मूल्यका दरले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरयुक्त कुल ३० लाख इकाई डिबेञ्चर निष्काशन गरेको हो। तीमध्ये १८ लाख इकाई निजी तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिएको छ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको थियो।
सर्वसाधारणका लागि विनियोजन गरिएको १२ लाख इकाईमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। उक्त डिबेञ्चरको सार्वजनिक निष्काशन असार १६ गतेदेखि खुला गरिएको थियो।
डिबेञ्चरमा न्यूनतम २५ इकाईदेखि अधिकतम उपलब्ध सम्पूर्ण इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत वा CDS and Clearing Limited ले सञ्चालन गरेको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन माध्यमबाट पनि आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया