लगातार वर्षापछि सुन्दरीघाटस्थित सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार
- आयुस बस्नेत
- 2026 Jul 12 09:53
काठमाडौं, असार २८ लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि त्यहाँ रहेका ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार शनिबार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा विपद् व्यवस्थापन टोलीसहित ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो। उद्धार अभियानमा नेपाल प्रहरीका ३० जना सुरक्षाकर्मी पनि सहभागी भएका थिए।
संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको जनाएको छ।
प्राधिकरणका अनुसार ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने बाँकी ९४ जनाले अन्यत्र जान नमानी डुबान प्रभावित क्षेत्रमै बसिरहेका छन्।
यसैबीच, केही पक्षले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा बागमती किनारका सुकुम्बासी बस्ती हटाइएकाले उनीहरूलाई अस्थायी शिविरमा बस्न बाध्य बनाइएको र त्यसकै कारण अहिले थप समस्या उत्पन्न भएको आरोप लगाएका छन्।
त्यस्तै, केही मानव अधिकारकर्मीले सुकुम्बासी व्यवस्थापनको प्रक्रियामा मानव अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। यद्यपि, महानगरपालिकाले यस विषयमा सार्वजनिक रूपमा कुनै नयाँ प्रतिक्रिया दिएको छैन।
यस घटनापछि डुबान प्रभावित क्षेत्रमा रहेका बाँकी व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायले पुनः आग्रह गरिरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया