बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, आज ९१ दिनका लागि निक्षेप संकलन
- BFIS News
- 2026 Jul 15 12:03
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (असार ३१ गते) १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले बुधबार प्रकाशित सूचनाअनुसार ९१ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागिएको हो। यसका लागि दिउँसो ३ बजे अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।
बोलकबोलबाट नै निक्षेपको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँको आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। अधिकतम रकम भने कुल निष्कासन रकमभित्र रहने गरी ५ करोड रुपैयाँको गुणाङ्क (मल्टिपल) मा आवेदन दिन सकिनेछ। एउटै संस्थाले कुल आह्वान गरिएको सीमाभित्र रहेर एकभन्दा बढी बोलकबोल पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।
यसरी संकलन गरिएको निक्षेपको साँवा तथा बोलकबोलबाट निर्धारण भएको ब्याजसहितको रकम राष्ट्र बैंकले २०८३ असोज २८ गते (अक्टोबर १४, २०२६) सम्बन्धित संस्थालाई फिर्ता गर्ने जनाएको छ।
बैंकिङ प्रणालीमा पछिल्लो समय देखिएको अधिक तरलता व्यवस्थापन तथा बजारमा रहेको अतिरिक्त नगदलाई निश्चित अवधिका लागि अवशोषण गर्ने उद्देश्यले राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया