बजार घट्दा पनि नाफा कमाउने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू हुन्छ : सेबोन अध्यक्ष भट्ट
- BFIS News
- 2026 Jul 15 15:01
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपाली पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ (Short Selling) प्रणाली लागू गरिने बताएका छन्। उक्त व्यवस्था कार्यान्वयन भएपछि बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल आर्जन गर्न सक्ने उनले बताए।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले नेपालको शेयर बजारमा बजार सधैं बढिरहनुपर्छ भन्ने एकपक्षीय सोच रहेको उल्लेख गर्दै विश्वका कुनै पनि पुँजीबजार निरन्तर उकालो मात्र नलाग्ने स्पष्ट पारे।
उनका अनुसार हालको व्यवस्थामा लगानीकर्ताले शेयरको मूल्य बढेपछि मात्रै नाफा कमाउन सक्छन्। यही कारण बजार घट्दा लगानीकर्ताबाट धितोपत्र बोर्डमाथि अनावश्यक दबाब पर्ने गरेको उनले बताए। बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्ने नभई निष्पक्ष र प्रतिस्पर्धात्मक वातावरण (Playing Field) सुनिश्चित गर्ने मात्र भएको उनको भनाइ थियो।
अध्यक्ष भट्टका अनुसार सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। त्यसपछि मूल्य घटेपछि सोही शेयर खरिद गरेर फिर्ता गर्दा खरिद–बिक्रीबीचको मूल्य अन्तरबाट नाफा लिन सकिनेछ। त्यसैगरी बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले अहिलेझैं शेयर खरिद गरी मूल्य वृद्धि भएपछि बिक्री गरेर प्रतिफल लिन सक्नेछन्।
उनले यस व्यवस्थाले बजार बढ्नैपर्ने भन्ने मनोविज्ञान अन्त्य हुने विश्वास व्यक्त गरे। लगानीकर्ताले आफ्नै अध्ययन, विश्लेषण र जोखिम मूल्याङ्कनका आधारमा निर्णय गर्ने वातावरण बन्ने उनको दाबी छ।
भट्टले सर्ट सेलिङ लागू भएसँगै बजारमा दुई प्रकारका लगानी रणनीति विकास हुने बताए। यसले बजारमा एकतर्फी दबाब कम गर्नुका साथै बजार घट्दा हुने आन्दोलन र धितोपत्र बोर्डमाथिको अनावश्यक घेराउसमेत न्यूनीकरण हुने उनको भनाइ थियो।
बैठकमा उनले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था पनि ल्याइने जानकारी दिए। सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणका विषयमा सरकारी निकायका गतिविधिका कारण लगानीकर्ताको मनोबल कमजोर भएको गुनासो आएको उल्लेख गर्दै यस्ता विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिने बताए।
अध्यक्ष भट्टले पुँजीबजारको दीर्घकालीन सुधारका लागि सेबोनले हालै ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरिसकेको जानकारी दिए। साथै, आगामी आर्थिक वर्षका प्राथमिकता समेटिएको आर्थिक वर्ष २०८३/८४ को पुँजीबजार नीति समेत सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसअनुसार बजार सुधार, नियमन सुदृढीकरण तथा लगानीकर्ता संरक्षणका कार्यक्रम अघि बढाइने बताए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया