लगानीकर्ताको धर्नाले सम्हालियो शेयर बजार, अध्यक्ष भट्टले बढाए लगानीकर्ताको कन्फिडेन्स
- BFIS News
- 2026 Jul 15 15:37
काठमाडौं। लगानीकर्ताको धर्ना र नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टको सक्रियताले लगानीकर्ताको कन्फिडेन्स बढेको छ। यस अघि लगातार चार कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले मंगलबारबाट सुधारको संकेत देखाएको बजारले बुधबार पनि त्यसलाई निरन्तरता दिएको छ। बुधबार नेप्से दोहोरो अंकले बढेर बन्द भए पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको छ।
बुधबार नेप्से परिसूचक १४.०० अंकले बढेर २,५९०.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ परिसूचक २.५९ अंक, फ्लोट इन्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अंकले वृद्धि भएका छन्। असार मसान्तपछि बजारमा देखिएको तरलता दबाब क्रमशः कम हुँदै जाँदा लगानीकर्ताको मनोबलमा पनि सुधार देखिन थालेको विश्लेषण गरिएको छ।
यद्यपि, बजार बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधाभन्दा बढीले घटेको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३६२ वटा धितोपत्रको ३८ हजार ८३६ पटकको कारोबारबाट ८४ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। पछिल्ला दिनहरूमा उच्च रहेको ऋणपत्र (डिबेञ्चर) कारोबार घटेकाले समग्र कारोबार रकममा पनि कमी आएको हो।
मूल्य वृद्धितर्फ एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० अग्रस्थानमा रह्यो। उक्त डिबेञ्चरको मूल्य ९.२० प्रतिशतले बढ्यो। त्यसपछि नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब ८.५ प्रतिशत र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य करिब ६.५ प्रतिशतले वृद्धि भएको छ। विपरीत दिशामा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ७.३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा भने १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ सबैभन्दा अगाडि रह्यो। यस डिबेञ्चरको ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८ को ३३ करोड रुपैयाँभन्दा बढी तथा १०.२५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८३/८४ को करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये ११ उपसमूह हरियालीमा रहे। विकास बैंक उपसमूह सर्वाधिक १.३७ प्रतिशतले बढ्दा निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, लगानी उपसमूह सामान्य घटेको छ भने म्युचुअल फण्ड उपसमूह स्थिर रहेको छ।
बजारमा सुधारको संकेत
बुधबारको वृद्धि अघिल्लो दिन देखिएको सुधारको निरन्तरता हो। लगातार चार दिनसम्म घटेको बजारले मंगलबार पहिलो पटक हरियाली देखाएको थियो। त्यसअघि सरकारी नीतिमा अन्योल, लगानीकर्ताको कमजोर मनोबल तथा नयाँ सरकार गठनपछिको अनिश्चितताका कारण बजार लगातार दबाबमा परेको थियो।
गत चैत १० गते बलियो सरकार बन्ने अपेक्षासँगै नेप्से २,९६० अंकसम्म पुगेको थियो। तर त्यसपछिका राजनीतिक तथा नीतिगत घटनाक्रमले लगानीकर्ताको विश्वास कमजोर बन्दै जाँदा बजार क्रमशः ओरालो लागेर २,६०० अंकभन्दा तल झरेको थियो।
मंगलबार बजारमा आएको सुधारमा लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्ने कार्यक्रम र त्यसक्रममा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले लगानीकर्तासँग छलफल गर्ने समाचारले सकारात्मक मनोविज्ञान सिर्जना गरेको विश्लेषण गरिएको थियो। प्रि–ओपनिङदेखि नै घटेर खुलेको बजार नियमित कारोबारमा करिब २२ अंकसम्म घटे पनि त्यसपछि सुधार हुँदै अन्ततः ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा बन्द भएको थियो।
यसरी मंगलबारबाट सुरु भएको सकारात्मक लय बुधबार पनि कायम रहँदा बजारमा लगानीकर्ताको आत्मविश्वास क्रमशः फर्किन थालेको संकेत देखिएको छ। यद्यपि, कारोबार रकममा आएको कमीले भने लगानीकर्ता अझै पूर्ण रूपमा सक्रिय भइसकेका छैनन् भन्ने संकेत पनि दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया