पूँजी बजारलाई विश्वस्तरीय बनाउने १० वर्षे मार्गचित्र: २०३६ सम्म जिडिपीको को १५० % बजार पूँजीकरणको लक्ष्य
- BFIS News
- 2026 Jul 15 16:02
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गर्दै आगामी एक दशकभित्र नेपालको पूँजी बजारलाई बैंकिङ प्रणालीको पूरकबाट राष्ट्रिय आर्थिक विकासको रणनीतिक वित्तीय पूर्वाधारका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन योजना अघि सारेका छन्।
मार्गचित्रले पूँजी बजारलाई सर्वसाधारणको बचतलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्ने राष्ट्रिय संयन्त्रका रूपमा परिभाषित गरेको छ। व्यक्तिगत, संस्थागत तथा वैदेशिक लगानीकर्ताबाट संकलित पूँजीलाई उद्योग, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आर्थिक वृद्धि, रोजगारी सिर्जना, औद्योगिकीकरण र दिगो विकासलाई गति दिने लक्ष्य दस्तावेजले लिएको छ।
अध्यक्ष भट्टका अनुसार अब नेपालको पूँजी बजारको प्राथमिकता ‘बजार विस्तार’ भन्दा ‘बजार रूपान्तरण’ हुनेछ। त्यसका लागि कानुनी सुधार, संस्थागत सुदृढीकरण, आधुनिक बजार पूर्वाधार, वित्तीय उपकरणको विविधीकरण, प्रविधिमैत्री प्रणाली, लगानीकर्ता संरक्षण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुशासनलाई मुख्य आधार बनाइनेछ।
पूँजी बजारको वर्तमान अवस्था
मार्गचित्रअनुसार नेपालको पूँजी बजारले पछिल्ला तीन दशकमा उल्लेखनीय प्रगति गरेको छ। प्रारम्भिक सरकारी ऋणपत्र कारोबारबाट सुरु भएको बजार अहिले डिम्याट प्रणाली, मेरो शेयर, अनलाइन कारोबार तथा डिजिटल पूर्वाधारमा आधारित आधुनिक वित्तीय प्रणालीमा विकसित भएको छ।
हाल देशभर ७७ लाख ६६ हजार ५६५ डिम्याट खाता, ६७ लाख ३७ हजार २५४ मेरो शेयर खाता तथा ३४ लाख ६६ हजार ४९९ सक्रिय कारोबार खाता सञ्चालनमा छन्।
सन् २०२६ सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९७ कम्पनी सूचीकृत छन्। बजार पूँजीकरण करिब ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब ७०.५२ प्रतिशत बराबर हो।
अन्तर्राष्ट्रिय तुलनामा नेपाल अझै पछाडि
मार्गचित्रले विश्व पूँजी बजारसँग नेपालको अवस्थाको तुलना पनि गरेको छ। विश्व फेडेरेसन अफ एक्सचेञ्ज (WFE) को तथ्यांकअनुसार सन् २०२५ मा विश्वभर सूचीकृत कम्पनीहरूको बजार पूँजीकरण GDP को औसत १४८.५ प्रतिशत रहेको छ।
यस्तै, हङकङमा यो अनुपात १,४२५ प्रतिशत, भारतमा २६६ प्रतिशत, संयुक्त राज्य अमेरिकामा २२४ प्रतिशत, क्यानडामा १९९ प्रतिशत, जापानमा १७१ प्रतिशत तथा दक्षिण कोरियामा १४७ प्रतिशत रहेको उल्लेख गर्दै नेपालमा यो अनुपात करिब ७४.२४ प्रतिशत मात्र रहेको जनाइएको छ। यसले नेपालको पूँजी बजार विस्तारका लागि अझै ठूलो सम्भावना रहेको मार्गचित्रले औंल्याएको छ।
सात रणनीतिक स्तम्भमा आधारित विकास योजना
पूँजी बजार विकास दृष्टिले आगामी दशकका लागि सात रणनीतिक स्तम्भ तय गरेको छ।
बलियो नियामक संरचना
बजारको गहिराइ तथा वित्तीय उपकरणको विविधीकरण
संस्थागत लगानीकर्ताको सशक्तीकरण
प्रविधिमा आधारित पूँजी बजार
लगानीकर्ता संरक्षण र वित्तीय साक्षरता
अन्तर्राष्ट्रियकरण तथा विदेशी लगानी
नवप्रवर्तन, एसएमई वित्तपोषण तथा दिगो वित्त
सेबोनले यी सात क्षेत्रमा केन्द्रित सुधारमार्फत नेपालको पूँजी बजारलाई दक्षिण एशियाकै विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।
सन् २०३६ सम्मका महत्वाकांक्षी लक्ष्य
मार्गचित्रले सन् २०३६ सम्म हासिल गर्ने विभिन्न सूचकहरू पनि सार्वजनिक गरेको छ। यसअनुसार बजार पूँजीकरणलाई GDP को १५० प्रतिशतभन्दा माथि पुर्याइनेछ। सूचीकृत कम्पनीको संख्या ५०० भन्दा बढी बनाइने लक्ष्य छ।
दैनिक औसत कारोबार हालको करिब ८ अर्ब रुपैयाँ बाट बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने योजना छ। डिम्याट खाताको संख्या १ करोड २० लाखभन्दा बढी बनाइनेछ भने कुल कारोबारमा संस्थागत लगानीकर्ताको हिस्सा ४० प्रतिशतभन्दा बढी पुर्याइने लक्ष्य राखिएको छ।
यस्तै, कर्पोरेट बन्ड बजारलाई कुल पूँजी बजारको २० प्रतिशत सम्म विस्तार गर्ने, १५० भन्दा बढी म्युचुअल फन्ड योजना, २०० भन्दा बढी एसएमई संस्था सूचीकृत गर्ने, नियमित हरित बन्ड (Green Bond) निष्कासन सुरु गर्ने तथा विदेशी पोर्टफोलियो लगानीलाई चरणबद्ध रूपमा संस्थागत बनाउने लक्ष्य पनि तय गरिएको छ।
तीन चरणमा कार्यान्वयन
सेबोनले मार्गचित्र कार्यान्वयनका लागि तीन चरणको राष्ट्रिय रोडम्याप प्रस्ताव गरेको छ।
पहिलो चरण (२०२६–२०२७) मा कानुनी, संस्थागत तथा नियामकीय सुधार गरिनेछ।
दोस्रो चरण (२०२८–२०३०) मा बजार विस्तार, वित्तीय उपकरणको विविधीकरण तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइनेछ।
तेस्रो चरण (२०३१–२०३६) मा अन्तर्राष्ट्रियकरण, क्षेत्रीय वित्तीय एकीकरण तथा विश्वस्तरीय पूँजी बजार निर्माणमा जोड दिइने योजना छ।
कानुनी र संरचनागत सुधारमा जोड
मार्गचित्रले नेपालको पूँजी बजारमा उल्लेखनीय प्राविधिक प्रगति भए पनि कानुनी संरचना, नियामकीय क्षमता, संस्थागत लगानी, कर्पोरेट बन्ड बजार, निजी इक्विटी, उद्यमशील पूँजी, विदेशी पोर्टफोलियो लगानी, वित्तीय उपकरणको विविधीकरण तथा बजार सुशासन अझै अपेक्षित स्तरमा पुग्न नसकेको निष्कर्ष निकालेको छ।
यसका लागि कानुनी तथा नीतिगत सुधार, आधुनिक बजार पूर्वाधार, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ता संरक्षण, वित्तीय साक्षरता, निजी इक्विटी तथा वैकल्पिक लगानी बजारको विकासलाई प्राथमिकतामा राखिएको छ।
सेबोनका अनुसार ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’ को अन्तिम उद्देश्य बजारको आकार मात्र विस्तार गर्नु नभई उत्पादनमूलक लगानी, ऊर्जा, पूर्वाधार, कृषि आधुनिकीकरण, डिजिटल रूपान्तरण तथा नवप्रवर्तनलाई वित्तीय आधार प्रदान गर्ने विश्वसनीय, विविधीकृत र अन्तर्राष्ट्रिय स्तरको पूँजी बजार निर्माण गर्नु हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया