NIMB Header 2
Nepal Life

वन्यजन्तुको आक्रमणबाट हुने क्षति अब बीमाको दायरामा, साउन १ देखि नयाँ बीमालेख लागू

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 15 21:26
वन्यजन्तुको आक्रमणबाट हुने क्षति अब बीमाको दायरामा, साउन १ देखि नयाँ बीमालेख लागू
IME LIFE

काठमाडौं। नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषि क्षेत्रको क्षतिलाई बीमाको दायरामा ल्याउने उद्देश्यले ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ स्वीकृत गरेको छ। उक्त बीमालेख आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ।

Nepal Life
NIMB

प्राधिकरणका अनुसार प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न निकायबाट वन्यजन्तुजन्य क्षतिको बीमामार्फत व्यवस्थापन गर्नुपर्ने माग निरन्तर उठ्दै आएको थियो। सोही मागलाई सम्बोधन गर्दै वन्यजन्तु जोखिमलाई बीमा प्रणालीमा समेट्ने गरी नयाँ बीमालेख तयार पारिएको हो।

बीमालेख निर्माणका क्रममा प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विभिन्न राष्ट्रिय निकुञ्ज तथा आरक्षका पदाधिकारी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, वन उपभोक्ता समिति, वन्यजन्तु विज्ञ तथा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल गरी सुझाव संकलन गरिएको प्राधिकरणले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार वन्यजन्तुको आक्रमणबाट प्रत्येक वर्ष मानवीय क्षति, घर तथा भौतिक संरचना, कृषिबाली र पशुधनमा ठूलो क्षति हुने गरेको छ। यस्ता घटनाबाट प्रभावित नागरिकलाई नेपाल सरकारले वार्षिक १५ करोड रुपैयाँभन्दा बढी राहत वितरण गर्दै आएको छ। पछिल्लो पाँच वर्षमा मात्रै सरकारले करिब ७८ करोड रुपैयाँ राहतस्वरूप वितरण गरेको तथ्यांक छ।

प्राधिकरणका अनुसार अब इजाजतप्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख बिक्री गर्न सक्नेछन्।

बीमालेखका प्रमुख व्यवस्था

नयाँ बीमालेख एकीकृत प्रकृतिको हुनेछ र यसको अवधि एक वर्ष रहनेछ। यसअन्तर्गत वन्यजन्तुको आक्रमणबाट हुने व्यक्तिगत दुर्घटना, घर तथा भौतिक संरचनाको क्षति, पशुधन तथा कृषिबालीको नोक्सानी एकै बीमालेखबाट रक्षावरण हुनेछ।

व्यक्तिगत दुर्घटनातर्फ मृत्यु वा स्थायी पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँसम्म, अस्थायी पूर्ण अशक्तता भएमा ५ लाख रुपैयाँसम्म, गम्भीर घाइतेको उपचार खर्च १ लाख रुपैयाँसम्म तथा सामान्य घाइतेको उपचार खर्च २० हजार रुपैयाँसम्म बीमा सुविधा उपलब्ध हुनेछ। यसका लागि वार्षिक १ हजार ५०० रुपैयाँ बीमाशुल्क तोकिएको छ।

यस्तै, घर तथा भौतिक संरचनामा ५ लाख रुपैयाँसम्म, कृषि प्रयोजनका पशुधनमा १ लाख रुपैयाँसम्म तथा कृषिबालीमा ५० हजार रुपैयाँसम्म बीमा सुरक्षा प्रदान गरिनेछ।

 

बीमा अवधिभित्र सबै प्रकारका जोखिम एकैपटक नघटे पनि बीमालेख अवधि समाप्त नभएसम्म प्रभावमा रहने व्यवस्था गरिएको छ। कृषि प्रयोजनका लागि पालिएका पशुधनमात्र बीमाको दायरामा पर्नेछन् भने घर, संरचना वा पशुधनको स्वामित्व परिवर्तन भएमा बीमकले निःशुल्क नामसारी गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणले बीमित स्थायी वा अस्थायी पूर्ण अशक्त भएको अवस्थामा मान्यताप्राप्त चिकित्सकको प्रमाणपत्र अनिवार्य हुने जनाएको छ। कृषिबालीको हकमा बीमा अवधिभित्र लगाइएको बाली मात्र बीमाङ्क रकमको सीमासम्म रक्षावरण हुनेछ।

दाबी प्रक्रिया थप सहज

बीमितले क्षतिको विवरण सुरक्षित राख्नुपर्ने तथा सर्जमिन मुचुल्का तयार भएपछि मात्रै क्षतिग्रस्त सामग्री हटाउन सक्ने व्यवस्था गरिएको छ। बीमालेख हराएको अवस्थामा समेत बीमकले दाबी भुक्तानीमा सहजीकरण गर्नुपर्ने उल्लेख छ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको अवस्थामा बीमाङ्क रकमबाहेक घटना भएको सात दिनभित्र शव व्यवस्थापन तथा काजक्रिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। मानव मृत्युबाहेकका अन्य दाबीमा भने बीमकले ५ प्रतिशत रकम कट्टा गरी भुक्तानी गर्न सक्नेछ।

बीमितले वन्यजन्तुको आक्रमणबाट दुर्घटना वा क्षति भएको ४८ घण्टाभित्र बीमकलाई जानकारी गराउनुपर्नेछ भने सूचना प्राप्त भएपछि बीमकले तत्काल दाबी प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुन-कुन वन्यजन्तुको जोखिम समेटिने?

बीमालेखले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, स्याल, मृग प्रजाति, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसार लगायत वन्यजन्तुको आक्रमणबाट हुने जोखिमलाई रक्षावरण गर्नेछ।

प्राधिकरणले यो व्यवस्था लागू भएपछि वन्यजन्तु प्रभावित समुदायलाई आर्थिक सुरक्षा उपलब्ध हुनुका साथै राहतमा मात्र निर्भर रहने अवस्थाको अन्त्य हुँदै बीमामार्फत जोखिम व्यवस्थापनको दिगो प्रणाली विकास हुने अपेक्षा गरेको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया