Nepal Life

शेयर बजारको अवस्थाबारे आज प्रधानमन्त्री बालेनको उच्चस्तरीय छलफल गर्दै,सरोकारवालासँग सुधारका उपाय खोजिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 20 12:16
शेयर बजारको अवस्थाबारे आज प्रधानमन्त्री बालेनको उच्चस्तरीय छलफल गर्दै,सरोकारवालासँग सुधारका उपाय खोजिने

काठमाडौं । नेपालको पूँजीबजारमा देखिएको लगातारको कमजोर मनोबल र लगानीकर्ताको बढ्दो चिन्ताका बीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज पूँजीबजारका प्रमुख सरोकारवालासँग उच्चस्तरीय छलफल गर्ने भएका छन्।

Nepal Life
NIMB

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो १२ बजे हुने उक्त बैठकमा पूँजीबजारले सामना गरिरहेका चुनौतीहरूको समीक्षा गर्दै लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न आवश्यक नीतिगत तथा संरचनात्मक उपायबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हालै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ३८० अंकले घट्दा बजार पुँजीकरणबाट झण्डै ६ खर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको थियो। शुक्रबार बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्तामा अझै अन्योल र निराशा कायम रहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहले नियामक निकाय, बजार सञ्चालक तथा लगानीकर्ताका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जालान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, ब्रोकर सञ्चालक प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेल लगायतको सहभागिता रहनेछ।

छलफलमा धितोपत्र बजारलाई थप पारदर्शी, स्थिर र लगानीकर्तामैत्री बनाउने उपाय, नियामकीय सुधार, बजार व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि तथा लगानीकर्ताको विश्वास सुदृढ गर्न आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरिने अपेक्षा गरिएको छ।

यससँगै अर्थतन्त्रको समग्र अवस्था, वित्तीय क्षेत्रका चुनौती तथा लगानीमैत्री वातावरण निर्माणमा सरकारको भूमिकाबारे पनि व्यापक छलफल हुने जनाइएको छ।

पछिल्लो समय पूँजीबजारमा देखिएको गिरावट र लगानीकर्ताको मनोबल कमजोर बनेपछि प्रधानमन्त्री शाहले प्रमुख सरोकारवालासँग गर्न लागेको यो प्रत्यक्ष संवादलाई पूँजीबजार सुधारका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार