नयाँ प्रणालीमा राहदानी सेवा सुधारोन्मुख, हालसम्म ८,२६० पासपोर्ट वितरण
- BFIS News
- 2026 Jul 26 08:29
काठमाडौं साउन १०। विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइका लागि लागू गरिएको नयाँ जर्मन प्रणाली क्रमशः सुधार हुँदै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गत असार २९ गते फ्रान्सेली कम्पनीको प्रणालीबाट जर्मनीको नयाँ प्रविधिमा स्थानान्तरण गरिएको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार नयाँ प्रणाली लागू भएपछि हालसम्म ८ हजार २६० वटा राहदानी छापेर वितरण गरिएको छ। प्रारम्भमा दैनिक करिब १०० प्रति राहदानी छाप्ने क्षमता रहेकामा अहिले दैनिक १,३०० प्रतिसम्म पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले राहदानी सेवा जनमुखी, सरल र सहज बनाउन प्रयास भइरहेको बताउँदै परीक्षण अवधिमा देखिएका प्राविधिक समस्या समाधानका लागि निरन्तर काम भइरहेको जनाएको छ।
राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेका अनुसार नयाँ प्रणालीमा नेपालको ठूलो परिमाणको विवरण सफलतापूर्वक स्थानान्तरण भए पनि आवेदन प्रक्रिया र राहदानी छपाइमा देखिएका सफ्टवेयरसम्बन्धी समस्या क्रमशः समाधान भइरहेको छ। समस्या समाधानका लागि जर्मनीबाट प्राविधिक टोली नेपाल आएको उनले जानकारी दिए।
विभागका अनुसार हाल छापिएका राहदानीमा कागज वा अन्य प्राविधिक गुणस्तरसम्बन्धी कुनै गुनासो प्राप्त भएको छैन। नयाँ प्रणाली स्थिर बनाउने उद्देश्यले आवश्यक सफ्टवेयर अद्यावधिकको काम निरन्तर जारी रहेको पनि विभागले जनाएको छ।
नयाँ प्रणाली लागू भएको पहिलो दिन १६९ वटा राहदानी छापिएको थियो। त्यसयता दैनिक एक हजारभन्दा बढी राहदानी छपाइ हुँदै आएको विभागले जनाएको छ। केही जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा सफ्टवेयर अद्यावधिकका कारण आवेदन रुजु प्रणाली सञ्चालनमा भने केही ढिलाइ भएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)


प्रतिक्रिया