Nepal Life

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीसँग पाँच घण्टा छलफल, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 29 17:23
अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीसँग पाँच घण्टा छलफल, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग करिब पाँच घण्टा लामो छलफल गर्दै सरकार लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

 

Nepal Life
NIMB

मंगलबार अर्थ मन्त्रालयमा दिउँसो ३ बजेदेखि सुरु भएको ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ साँझ ८ बजेपछि सम्पन्न भएको थियो। छलफलमा अर्थसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी तथा करिब दुई दर्जन उद्योगी–व्यवसायी सहभागी थिए।

छलफलका क्रममा उद्योगी–व्यवसायीहरूले उद्योग सञ्चालनमा देखिएका समस्या, सुस्त अर्थतन्त्रको प्रभाव, कर नीतिका जटिलता, पूर्वाधार अभाव, नीतिगत अन्योल तथा सरकारी निकायबाट हुने प्रशासनिक झन्झटबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले उद्योगमैत्री नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न, लगानीको वातावरण सुधार गर्न तथा अर्थतन्त्र चलायमान बनाउन तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका थिए।

उद्योगीहरूको सुझाव सुनेपछि अर्थमन्त्री वाग्लेले सरकार समस्या पहिचानमा मात्र सीमित नभई व्यावहारिक समाधानतर्फ केन्द्रित रहेको बताए। बजेट निर्माणका क्रममा निजी क्षेत्र, बैंकिङ क्षेत्र, लगानीकर्ता तथा युवा उद्यमीसँग निरन्तर संवाद गर्दै संरचनागत आर्थिक सुधारको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

उनले निजी क्षेत्रलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्दै सरकारको प्रमुख प्राथमिकता “लगानी, लगानी र केवल लगानी” रहेको उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले पुराना तथा अनावश्यक कानुन खारेज गर्ने, कर प्रणालीलाई सरल, पारदर्शी र पूर्वानुमानयोग्य बनाउने, व्यवसाय गर्ने वातावरण सहज बनाउने, पुँजी बजार तथा वैकल्पिक वित्तीय साधन विस्तार गर्ने र डिजिटल सेवामार्फत सुशासन प्रवर्द्धन गर्ने सरकारको योजना रहेको जानकारी दिए। उनले अर्थतन्त्रसँग सम्बन्धित ४२ वटा ऐन संशोधन वा खारेज गर्ने प्रक्रिया अघि बढेको तथा सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, उद्योग विस्तार गर्ने र नयाँ उद्योग स्थापना गर्ने वातावरण तयार पार्ने सरकारको लक्ष्य रहेको बताए।

सरकारको भूमिका उद्योग सञ्चालन गर्ने नभई उद्योग सञ्चालनका लागि सहज, सुरक्षित र सुशासित वातावरण निर्माण गर्ने रहेको उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीबाट प्राप्त सुझाव कार्यान्वयन गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने जानकारी दिए। साथै, बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधार र कानुनी संशोधनलाई समयमै कार्यान्वयन गर्ने, पुँजीगत खर्च बढाउने तथा आयोजना कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे। स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात विस्तारका लागि निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

स्वदेशी उत्पादन वृद्धि छलफलको मुख्य एजेन्डा : चन्द्र ढकाल

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले अर्थमन्त्रीले उद्योगी–व्यवसायीका समस्या गम्भीरतापूर्वक सुनेको बताए।

उनका अनुसार छलफल मुख्यतः कर नीति, पूर्वाधार विकास र नीतिगत सुधारका विषयमा केन्द्रित थियो। उत्पादनसँग सम्बन्धित वस्तु तथा केही तयारी वस्तुमा लाग्दै आएको करदरबारे उद्योगीहरूले असन्तुष्टि व्यक्त गरेका थिए। अर्थमन्त्रीले आवश्यक नीतिगत सुधार तथा सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधानतर्फ काम गर्ने प्रतिबद्धता जनाएको ढकालले बताए।

उनले स्वदेशी उत्पादन वृद्धि सरकार र निजी क्षेत्र दुवैको साझा प्राथमिकता रहेको उल्लेख गर्दै उद्योगीहरूले उठाएका विषय व्यवहारमै कार्यान्वयन भए अर्थतन्त्रलाई थप गति मिल्ने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार