लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीद्वारा समिति गठन, आजैदेखि संवाद प्रक्रिया सुरु हुने
- BFIS News
- 2026 Jul 30 12:23
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितका समस्या समाधानका लागि वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा अन्तर–निकाय प्रतिनिधिसहितको वार्ता टोली गठन गरेका हुन्।
अर्थमन्त्री वाग्लेले गठन गरिएको समितिलाई आजैदेखि लघुवित्त पीडितहरूसँग औपचारिक वार्ता सुरु गर्न निर्देशन दिएका छन्। सरकारका अनुसार लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत पीडितहरूको समस्यालाई संवादमार्फत समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
गठित समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य रहेका छन्। सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। समितिको सचिवको जिम्मेवारी अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई दिइएको छ।
समितिको पहिलो बैठक बिहीबार केही बेरमै अर्थ मन्त्रालयमा बस्ने तय भएको छ। उक्त बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजैदेखि वार्ताको औपचारिक प्रक्रिया अघि बढाउने तयारी गर्ने जनाइएको छ।
लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरू राख्दै पीडितहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। ती मागहरूलाई सम्बोधन गर्दै सहमतिमा पुग्ने उद्देश्यले सरकारले वार्ता प्रक्रियालाई अघि बढाएको हो। अर्थमन्त्री वाग्लेको यस पहलसँगै आन्दोलनरत लघुवित्त पीडितका मागहरू वार्तामार्फत समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया