Nepal Life

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 29 11:18
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज बोलकबोल (बिडिङ) प्रक्रियामार्फत ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले ६१ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो।

Nepal Life
NIMB

राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि साउन १३ गते दिउँसो ३ बजे अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल सञ्चालन हुनेछ। निक्षेपमा प्रदान गरिने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँको आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। अधिकतम आवेदन भने ५ करोड रुपैयाँको गुणांक (Multiples of Rs. 5 Crore) मा कुल आह्वान गरिएको रकमसम्म गर्न सकिनेछ। एउटै संस्थाले कुल आह्वान गरिएको सीमाभित्र रहेर एकभन्दा बढी बोलकबोल प्रस्तावसमेत पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको सावाँ तथा बोलकबोलबाट तय भएको ब्याज रकमसहित २०८३ असोज १२ गते सम्बन्धित संस्थालाई फिर्ता गरिनेछ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण नियमित रूपमा प्रयोग गर्दै आएको छ। यसमार्फत बजारमा रहेको अतिरिक्त रकमलाई निश्चित अवधिका लागि केन्द्रीय बैंकमा तानेर मौद्रिक व्यवस्थापन गर्ने गरिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया