Nepal Life

प्रचण्डको सरकारलाई सुझाव: अनुभवी नेतृत्वसँग संवाद गर्न र अहंकार त्याग्न आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 30 16:20
प्रचण्डको सरकारलाई सुझाव: अनुभवी नेतृत्वसँग संवाद गर्न र अहंकार त्याग्न आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका जटिल समस्या समाधानका लागि सरकारलाई अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूसँग संवाद र सहकार्य गर्न आग्रह गरेका छन्।

Nepal Life
NIMB

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले अहंकारका आधारमा शासन सञ्चालन गर्न खोजिए त्यसले देशका लागि दुर्भाग्यपूर्ण अवस्था निम्त्याउन सक्ने चेतावनी दिए।

संसदमा सम्बोधनका क्रममा दाहालले नेपालमा विभिन्न राजनीतिक उतारचढाव पार गरेका, लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका तथा कठिन परिस्थितिमा मुलुकलाई निकास दिन सक्ने अनुभव भएका नेताहरूको ज्ञान र अनुभवलाई उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न त्यस्ता अनुभव महत्वपूर्ण हुने उनको भनाइ थियो।

प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै दाहालले भ्रष्टाचारविरुद्धको अभियान सञ्चालनका क्रममा विगतका अनुभवबारे छलफल र परामर्श गर्न सकिने उल्लेख गरे। आफूलाई मात्रै पर्याप्त ठान्ने सोचका कारण अनुभवबाट सिक्ने अवसर गुमाइए त्यसले मुलुकका लागि नकारात्मक परिणाम ल्याउन सक्ने उनको धारणा थियो।

उनले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलसँग शासन सञ्चालन र राजनीतिक संघर्षका लामो अनुभव रहेको उल्लेख गर्दै ती अनुभव वर्तमान सरकारका लागि पनि उपयोगी हुन सक्ने बताए। सरकार संवादबाट टाढिने, प्रतिपक्षलाई अवमूल्यन गर्ने वा समाजका कुनै वर्ग र समुदायलाई बेवास्ता गर्ने प्रवृत्तिले अन्ततः राष्ट्र, जनता र सरकार सबैलाई समस्या निम्त्याउन सक्ने चेतावनी उनले दिए।

दाहालले सबै राजनीतिक शक्ति, सामाजिक वर्ग र समुदायलाई समेटेर सहकार्यको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै उदार र समावेशी दृष्टिकोणबाट अघि बढ्दा मात्रै देश र जनताको हित सुनिश्चित हुने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया