अर्थमन्त्री वाग्लेको राष्ट्र बैंकलाई आग्रह: 'नियमन मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुपर्छ'
- BFIS News
- 2026 Aug 05 11:49
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाको भूमिकामा सीमित नरही नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा अघि बढ्न आग्रह गरेका छन्।
नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूसँग बुधबार भएको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले अघि बढाएको आर्थिक सुधार तथा संरचनागत रूपान्तरणको अभियानलाई सफल बनाउन मौद्रिक पक्षबाट पनि समान गति, स्पष्टता र प्रतिबद्धता आवश्यक रहेको बताए।
उनले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको छलफलबाट निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरेको उल्लेख गरे। "निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढी आत्मविश्वास खोजिरहेको छ," उनले भने।
अर्थमन्त्री वाग्लेले सरकार र नेपाल राष्ट्र बैंकबीचको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिए। पछिल्लो एक दशकका आर्थिक नीतिको समीक्षा गर्दै उनले नीतिगत निर्णय भए पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित परिणाम हासिल हुन नसकेको टिप्पणी गरे।
उनले बैंकिङ प्रणालीमा तरलता बढ्दासमेत उद्योग तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अपेक्षित रूपमा हुन नसकेको, निजी क्षेत्रको लगानी आत्मविश्वास कमजोर बनेको, पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर भएको तथा उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन नसकेको विषयलाई गम्भीर समीक्षा गर्नुपर्ने बताए।
"यी प्रश्नहरू केवल समीक्षा गर्ने विषय होइनन्। यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्नेछ," उनले भने।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्यापका रूपमा व्याख्या गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा नेपाल राष्ट्र बैंकको भूमिका पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए।
छलफलका क्रममा उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह विस्तार, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध निर्माण तथा मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वयका विषयमा सुझाव मागे।
यस्तै डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउने नीतिगत उपायबारे पनि खुला छलफल गर्न उनले आग्रह गरे।
उनले नियमनको उद्देश्य नियन्त्रणमा मात्र सीमित नरही उत्पादनशील आर्थिक गतिविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे। "हामी 'यो सम्भव छैन' भन्ने सोचबाट होइन, 'यसलाई सम्भव बनाउन के गर्नुपर्छ?' भन्ने सोचबाट अघि बढ्नुपर्छ," उनले भने।
नेपाललाई अहिले सबैभन्दा बढी नीतिगत आत्मविश्वास (Policy Confidence) आवश्यक रहेको उल्लेख गर्दै उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्रबीच समान आत्मविश्वास र समन्वय कायम भए आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य नरहने बताए।
सरकारले आवश्यक कानुनी संशोधन, संस्थागत सुधार तथा कार्यान्वयनलाई तीव्रता दिइरहेको जानकारी दिँदै उनले मौद्रिक नीतिमा पनि त्यही स्तरको स्पष्टता र सक्रियता आवश्यक रहेको बताए।
अर्थमन्त्री वाग्लेले बैठकमा उठेका सुझावहरूलाई औपचारिक छलफलमा सीमित नराखी कार्ययोजनामा रूपान्तरण गरिने जानकारी दिए। आवश्यक परे संयुक्त कार्यदल गठन, नीतिगत समन्वयलाई संस्थागत गर्ने तथा निर्णय प्रक्रियालाई थप छरितो बनाइने उनले बताए।
बैठकको अन्त्यमा उनले सुधारका लागि राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्वको आधार र निजी क्षेत्रको तयारी अहिलेको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै राज्यका सबै निकायले एउटै दिशा, स्पष्टता र गतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
"यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पना रहने छैन, त्यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ," उनले भने।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया