Nepal Life

मोबाइल सेवा प्रदायकलाई 5G कार्ययोजना पेश गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 07 16:51
मोबाइल सेवा प्रदायकलाई  5G कार्ययोजना पेश गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं, साउन २२ नेपाल दूरसञ्चार प्राधिकरणले देशमा 5G मोबाइल सेवा विस्तारको तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।

 

 

Nepal Life
NIMB

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम नेपाल टेलिकम, एनसेलसहितका मोबाइल सेवा प्रदायकलाई आठ बुँदे निर्देशन जारी गर्दै सेवा गुणस्तर, नियामकीय अनुपालन, उपभोक्ता हित संरक्षण तथा नयाँ प्रविधिको विस्तारमा जोड दिएको हो।

प्राधिकरणले प्रमुख शहरी क्षेत्रबाट ५जी सेवा सुरु गर्ने लक्ष्य राख्दै आवश्यक कार्ययोजना पेश गर्न तथा देशभर  4G सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ।

निर्देशनअनुसार सेवा प्रदायकहरूले नेटवर्कको विश्वसनीयता, डेटा गति तथा ग्राहक अनुभव सुधार गर्नुपर्नेछ। साथै, प्राधिकरणले निर्धारण गरेका प्रमुख कार्यसम्पादन सूचक (केपीआई) सम्बन्धी प्रतिवेदन, नेटवर्कको अवस्था, सेवा अवरोध, डेटा गति तथा ग्राहक सन्तुष्टिसम्बन्धी विवरण नियमित रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणले ग्राहक सेवा सुधारका लागि २४ सै घण्टा गुनासो सुनुवाइ हुने प्रणाली विकास गर्न, कृत्रिम बुद्धिमत्ता (एआई) सहितका आधुनिक प्रविधि प्रयोग गर्न तथा नियमित ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रमा प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र तथा प्रमुख शहरी क्षेत्रमा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गर्न तथा सेवा पुगेका स्थानको विवरण प्रत्येक तीन महिनामा अद्यावधिक गर्न पनि प्राधिकरणले भनेको छ।

यसैगरी, रेडियो फ्रिक्वेन्सीको प्रभावकारी उपयोग, दूरसञ्चार पूर्वाधारको साझा प्रयोग, अनुदान प्राप्त परियोजनाको प्रभावकारी कार्यान्वयन, साइबर सुरक्षा, नेटवर्क सुरक्षा, विपद् व्यवस्थापन तथा व्यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न पनि सेवा प्रदायकलाई निर्देशन दिइएको छ।

शुल्क व्यवस्थापनतर्फ लागतमा आधारित, वैज्ञानिक र पारदर्शी प्रणाली अपनाउन तथा बजारको माग र प्रविधिगत विकासअनुसार सेवाका शुल्कको नियमित समीक्षा गरी आवश्यक प्रस्ताव प्राधिकरणमा पेश गर्न पनि निर्देशन दिइएको छ।

प्राधिकरणले यी निर्देशनको प्रभावकारी कार्यान्वयनबाट ४जी सेवाको गुणस्तर सुधार,  5G विस्तार, उपभोक्ता अधिकार संरक्षण तथा दूरसञ्चार क्षेत्रमा नयाँ प्रविधिको प्रयोगले थप गति लिने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया