करमार्फत राष्ट्र निर्माणमा नबिल बैंकको ४२ वर्षे योगदान: राज्यले पायो २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर
- BFIS News
- 2026 Aug 09 18:31
काठमाडौं। कुनै पनि राष्ट्रको आर्थिक मेरुदण्ड कर हो। सरकारले शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानी, सामाजिक सुरक्षा, सार्वजनिक प्रशासनदेखि पूर्वाधार निर्माणसम्मका अधिकांश काम करबाट संकलित राजस्वकै आधारमा सञ्चालन हुन्छ। त्यसैले समयमै पारदर्शी र इमान्दारीपूर्वक कर तिर्ने व्यक्ति तथा संस्थाहरू व्यवसायिक सफलता हासिल गरेका संस्था मात्रै नभइ राष्ट्र निर्माणका विश्वसनीय साझेदार पनि हुन्।
यही सन्दर्भमा नबिल बैंकले विगत चार दशकभन्दा लामो यात्रामा राज्यलाई पुर्याएको योगदान उल्लेखनीय देखिन्छ। बैंकले स्थापना भएयता हालसम्म २८ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी आयकर सरकारलाई बुझाइसकेको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै बैंकले २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ कर भुक्तानी गरेको छ, जसले नबिललाई पुनः बैंक तथा वित्तीय संस्थामध्ये अग्रणी करदाताको रूपमा उभ्याएको छ।
नेपालमा बैंकहरूले उच्च नाफा कमाउने विषय सार्वजनिक बहसको केन्द्रमा रहने गर्छ। तर, त्यही नाफाबाट राज्यलाई कति ठूलो परिमाणमा कर तिरिएको छ भन्ने पक्ष भने एकदमै कम चर्चामा आउँछ। बैंक तथा वित्तीय संस्थाहरू देशकै सबैभन्दा पारदर्शी संस्थामध्ये पर्छन्। उनीहरूका वित्तीय विवरण, लेखापरीक्षण, नाफा–नोक्सान तथा कर दायित्व नियमित रूपमा सार्वजनिक हुने भएकाले उनीहरूमाथि सार्वजनिक निगरानी पनि उच्च हुन्छ। यही पारदर्शिताले आलोचना निम्त्याए पनि त्यसले उनीहरूको वास्तविक आर्थिक योगदानलाई ओझेलमा पार्नु हुँदैन।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७४ करोड रुपैयाँ, २०८०/८१ मा २ अर्ब ८० करोड रुपैयाँ तथा २०७९/८० मा १ अर्ब ९४ करोड रुपैयाँ कर तिरेको थियो। अझ महत्वपूर्ण पक्ष के छ भने बैंकले लगातार ११ वर्षदेखि प्रत्येक वर्ष एक अर्ब रुपैयाँभन्दा बढी कर राज्यलाई बुझाउँदै आएको छ।
नबिल बैंकले स्थापनाकालदेखि नै राज्यलाई ठुलो योगदान पुर्याउदै आइरहेको छ। आर्थिक वर्ष २०४२/४३ मा बैंकले पहिलोपटक २० लाख ७ हजार रुपैयाँ कर तिरेको थियो। त्यतिबेला नेपालको कुल राष्ट्रिय बजेट करिब ११ अर्ब ४८ करोड रुपैयाँ थियो भने सरकारको राजस्व संकलन लक्ष्य ५ अर्ब ४३ करोड रुपैयाँ मात्रै थियो। यस्तो सीमित आर्थिक आकार भएको समयमा नयाँ स्थापना भएको बैंकले २० लाख रुपैयाँभन्दा बढी कर तिर्नु आफैंमा महत्वपूर्ण उपलब्धि थियो।
आर्थिक वर्ष २०४३/४४ मा बैंकले ६७ लाख, २०४४/४५ मा एक करोड १२ लाख रुपैयाँ, २०४५/४६ मा एक करोड १६ रुपैयाँ तिरेको पाइन्छ। अझ प्रजातन्त्र पुनर्स्थापना पछि बैंकले भुक्तानी गर्ने करको आकार व्यापक रुपमा बढ्दै आएको पाइन्छ।
समयसँगै बैंकको व्यवसाय विस्तार भयो, सेवा विस्तार भयो र त्यससँगै राज्यप्रतिको कर योगदान पनि निरन्तर बढ्दै गयो। प्रारम्भिक समयमा लाखबाट सुरु भएको यात्रा आज अर्बौं रुपैयाँमा पुगेको छ। यो केवल एउटा बैंकको व्यवसायिक वृद्धि मात्र होइन, नेपालको औपचारिक अर्थतन्त्रसँगै विकसित भएको जिम्मेवार कर संस्कृतिको पनि प्रतिबिम्ब हो।
राष्ट्रिय राजस्वमा अर्थपूर्ण हिस्सा
गत आर्थिक वर्षमा सरकारले करिब ९ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको अवस्थामा नबिल बैंकले मात्रै २ अर्ब ९७ करोड रुपैयाँ कर बुझाएको थियो। यो कुल संकलित राजस्वको करिब ०.३० प्रतिशत योगदान हो।
एउटै संस्थाले राष्ट्रिय राजस्वमा पुर्याएको यस्तो प्रत्यक्ष योगदान उल्लेखनीय मानिन्छ। यसबाहेक बैंकले रोजगारी सिर्जना, वित्तीय पहुँच विस्तार, लगानी प्रवाह, डिजिटल बैंकिङ, वित्तीय समावेशीकरण तथा निजी क्षेत्रको आर्थिक गतिविधि विस्तारमार्फत दिएको अप्रत्यक्ष योगदानको कुनै पृथक हिसाब छैन।
सरकारले संकलन गर्ने कर कुनै निष्क्रिय रकम होइन। यही रकमबाट कर्मचारीको तलब भत्ता, विद्यालय, अस्पताल, सडक, पुल, विद्युत् आयोजना, खानेपानी, सामाजिक सुरक्षा, सार्वजनिक सेवा तथा विकास निर्माणका हजारौं कार्यक्रम सञ्चालन हुन्छन्।
यस अर्थमा नबिल बैंकले तिरेको २८ अर्बभन्दा बढी कर सरकारी खातामा जम्मा भएको रकम मात्र नभइ विकासका सयौं योजनाको आधार, सार्वजनिक सेवाको स्रोत र राष्ट्र निर्माणको साझा लगानी पनि हो।
उच्च करदाताको सम्मान
नबिल बैंकलाई सरकारले उच्च करदाताको रुपमा सम्मान गर्दा यसको योगदानकर्ता समग्रममा शेयरधनी, कर्मचारी, निक्षेपकर्ता, ऋणी, सेवाग्राही लगायत धेरै पर्छन्। जसको सामुहिक समर्पणबाटै बैंकले यति ठुलो योगदान पुर्याउदा यसको श्रेय सबैलाई जाने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउछन्।
विश्वका धेरै मुलुकमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सार्वजनिक रूपमा सम्मान गर्ने अभ्यास छ। नेपालमा पनि राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।
यसको उद्देश्य विशेष सुविधा प्रदान गर्नु होइन। यसको मूल उद्देश्य इमानदार करदाताप्रति राज्यको सम्मान व्यक्त गर्नु, कर संस्कृतिलाई सुदृढ बनाउनु र अन्य व्यक्ति तथा संस्थालाई पनि जिम्मेवार करदाताको रूपमा अघि बढ्न प्रेरित गर्नु हो। जसको स्रोत नबिल बैंक बन्दै आइरहेको छ। त्यसैले कर दिवसमा नबिल बैंकले प्राप्त गर्दै आएको सम्मान एउटा पुरस्कार मात्र नभएर राष्ट्रप्रतिको उत्तरदायित्वको सार्वजनिक स्वीकारोक्ति पनि हो।
नेपालमा अनौपचारिक क्षेत्रहरूको कर योगदानको तुलनामा औपचारिक वित्तीय क्षेत्रले निरन्तर उच्च कर तिर्न सकेको तथ्यले पारदर्शी कर प्रणालीको महत्वलाई झनै उजागर गर्छ। यहाँ अन्य अनौपचारिक तथा उत्पादनमूलक क्षेत्र कमजोर भएर भन्दा पनि परदर्शिता, इमान्दारिता र नैतिकता अगाडी आउछ।
कर भनेको सरकारलाई कानुनअनुसार बुझाइने अनिवार्य आर्थिक योगदान हो। यसबाट प्रत्यक्ष व्यक्तिगत लाभको अपेक्षा गरिँदैन, तर यसको प्रतिफल सम्पूर्ण समाजले पाउँछ। नागरिक र संस्थाले तिरेको करबाट नै विकास निर्माण, सार्वजनिक सेवा, सामाजिक सुरक्षा, सुशासन तथा समग्र आर्थिक समृद्धिको आधार तयार हुन्छ। त्यसैले कर तिर्नु कानुनी दायित्व मात्र होइन, राष्ट्र निर्माणमा सहभागी हुने जिम्मेवार अभ्यास पनि हो।
कुनै पनि राष्ट्रको आर्थिक समृद्धि कर प्रणालीको मजबुतीसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। इमानदारीपूर्वक कर तिर्ने संस्था नै सुशासन, पारदर्शिता र उत्तरदायी अर्थतन्त्रका आधारस्तम्भ हुन्। नबिल बैंकको चार दशकभन्दा लामो कर यात्रामा व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्व एकअर्काका पूरक हुन। राज्यलाई अर्बौं रुपैयाँ कर बुझाउँदै आएको यो निरन्तरता केवल एउटा बैंकको उपलब्धि मात्रै नभए नेपालको औपचारिक अर्थतन्त्र, जिम्मेवार निजी क्षेत्र र स्वस्थ कर संस्कृतिको प्रेरणादायी उदाहरण पनि हो।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया