एग्री केयर नेपालले आईपीओ निष्कासनको तयारी अघि बढायो, नेपाल लाइफ क्यापिटलसँग परामर्श सम्झौता
- BFIS News
- 2026 Aug 14 14:11
काठमाडौं। कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र सम्भावित आईपीओ निष्कासनको तयारीलाई व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको हो।
चितवनको भरतपुर–४ स्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनी र नेपाल लाइफ क्यापिटलबीच कर्पोरेट एडभाइजरी सर्भिसेस सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा एग्री केयर नेपालका अध्यक्ष रविन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले कम्पनीको पूँजी बजारमा प्रवेशको तयारीलाई व्यवस्थित बनाउन आवश्यक परामर्श उपलब्ध गराउनेछ। यसअन्तर्गत सम्भावित आईपीओको आकार निर्धारण, पूँजी संरचनामा आवश्यक सुधार, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र नियामकीय प्रक्रियाका लागि आवश्यक समन्वयलगायतका कार्य समेटिएका छन्।
कम्पनीका अनुसार परामर्श सेवामार्फत एग्री केयर नेपालको वर्तमान वित्तीय तथा व्यावसायिक अवस्थाको मूल्यांकन गर्दै भविष्यमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्न आवश्यक आधार तयार गरिनेछ।
कृषि सामग्रीदेखि बायो–इनपुट्ससम्म विस्तार
सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको जनाएको छ। सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएपछि कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत व्यवसाय विस्तार गरेको थियो।
पछिल्ला वर्षहरूमा कम्पनीले क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले किसानको उत्पादकत्व र बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य तथा दिगो कृषि अभ्यासलाई प्राथमिकतामा राख्दै आएको बताएको छ। किसानलाई आवश्यक जानकारी तथा प्राविधिक सहयोग उपलब्ध गराउन विभिन्न प्रशिक्षण कार्यक्रम र किसान कल सेन्टरसमेत सञ्चालन गर्दै आएको कम्पनीको भनाइ छ।
अब नेपाल लाइफ क्यापिटलसँगको परामर्शमार्फत एग्री केयर नेपालको पूँजी संरचना, वित्तीय तथा कानुनी अवस्था र सम्भावित आईपीओको तयारीलाई अगाडि बढाइने भएको छ। आईपीओ निष्कासनको प्रक्रिया भने आवश्यक अध्ययन, सुधार तथा नियामकीय स्वीकृतिपछि अघि बढ्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया