प्रभु बैंकको वित्तीय अवस्था कमजोर, नाफाबाट २४ करोड घाटामा; एनपीएल १५.५५ प्रतिशत पुग्यो
- BFIS News
- 2026 Aug 17 17:34
काठमाडौं, साउन ३२ गते । प्रभु बैंकको वित्तीय अवस्था थप कमजोर बनेको छ । आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंक अघिल्लो वर्षको नाफाबाट घाटामा गएको छ भने निष्क्रिय कर्जा (एनपीएल) १५.५५ प्रतिशत पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा वर्षमा भने बैंक २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ । बैंकको सञ्चित नोक्सानीसमेत बढेर ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको ७.०१ प्रतिशतबाट बढेर समीक्षा वर्षमा १५.५५ प्रतिशत पुगेको हो । खराब कर्जामा भएको वृद्धिका कारण बैंकले करिब ५ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) गर्नुपरेको छ ।
खराब कर्जाको वृद्धिको असर बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत परेको छ । समीक्षा वर्षमा बैंकको ईपीएस १.०२ रुपैयाँ ऋणात्मक रहेको छ ।
यस्तै, बैंकको पुँजी कोष अनुपात ११.८३ प्रतिशत र प्राथमिक पुँजी अनुपात ८.८३ प्रतिशतमा झरेको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६७ प्रतिशतमा सीमित रहेको छ ।
प्रभु बैंकको वित्तीय अवस्था कमजोर बन्नुमा विगतमा सिर्जित खराब कर्जाको थुप्रो, कर्जा असुलीमा देखिएको चुनौती तथा व्यवसाय विस्तारमा आएको सुस्ततालाई प्रमुख कारणका रूपमा हेरिएको छ ।
बैंकको नेतृत्व सम्हालेको करिब ६ महिनाको अवधिमा नयाँ व्यवस्थापनले खराब कर्जा असुली र व्यवसाय विस्तारमा अपेक्षित सुधार ल्याउन नसकेको भन्दै प्रश्नसमेत उठेका छन् । बैंकिङ क्षेत्रमा अनुभवी मानिएका सुमन शर्माले नेतृत्व सम्हालेपछि वित्तीय अवस्था सुधार हुने अपेक्षा गरिए पनि पछिल्लो वित्तीय विवरणले त्यसको विपरीत अवस्था देखाएको छ ।
खराब कर्जा बढ्दै जाँदा बैंकको नाफामा प्रत्यक्ष दबाब परेको छ । प्रोभिजनिङमा ठूलो रकम छुट्याउनुपर्दा नाफा प्रभावित भएको हो । साथै, कर्जा प्रवाहमा अपेक्षित विस्तार हुन नसक्दा बैंकको व्यवसायिक आम्दानीमा समेत दबाब परेको देखिन्छ ।
बैंकको वर्तमान अवस्थाले खराब कर्जा व्यवस्थापन र कर्जा असुलीलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने देखाएको छ । साथै, नयाँ व्यवसाय विस्तार गर्दै बैंकको आम्दानीको आधार बलियो बनाउनु र पुँजी तथा वित्तीय स्वास्थ्यमा सुधार ल्याउनु व्यवस्थापनका लागि प्रमुख चुनौती बनेको छ ।
यदि निष्क्रिय कर्जा नियन्त्रण र असुली प्रक्रियामा सुधार आउन सकेन भने आगामी दिनमा बैंकको नाफा, लाभांश क्षमता तथा समग्र वित्तीय स्वास्थ्यमा थप दबाब पर्न सक्ने देखिन्छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)







प्रतिक्रिया