गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
- BFIS News
- 2026 Aug 20 11:19
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित बैंकको आफ्नै स्वामित्वको नयाँ भवनको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्घाटन गरेका हुन्।
यसअघि लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारमा स्थानान्तरण गरिएको हो। नयाँ कार्यालय उद्घाटनका अवसरमा कार्यालय परिसरमा निर्मित मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा पनि गरिएको बैंकले जनाएको छ।
स्याङ्जाको वालिङबाट २०६४ सालमा वित्तीय कारोबार सुरु गरेको गरिमा विकास बैंकले १ वैशाख २०६७ मा आफ्नो केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि २७ चैत २०७३ मा केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा सारिएको थियो।
नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियमनकारी निकायका पदाधिकारी तथा गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको व्यावसायिक यात्रामा नयाँ अध्याय सुरु भएको बताए। उनले बैंकको सफल यात्रामा विभिन्न संस्था, नियमनकारी निकाय, ग्राहक तथा सेयरधनीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
त्यस्तै, बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले आगामी दिनमा ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै बैंकलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया