बीमा सर्भेयरको क्षमता विकास र अनुसन्धानमा जोड दिन प्राधिकरणका निर्देशक शाम्बराज लामिछानेको आग्रह
- BFIS News
- 2026 Aug 23 18:28
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्बराज लामिछानेले बीमा क्षेत्रको प्रभावकारी विकासका लागि बीमा सर्भेयरको व्यावसायिक क्षमता, दक्षता र अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताएका छन्।
रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले सर्भेयर बीमा व्यवसायका लागि महत्वपूर्ण स्वतन्त्र विशेषज्ञ रहेको बताए। सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका दक्ष जनशक्तिलाई बीमा कम्पनीहरूले आफ्नो व्यवसायिक प्रणालीमा विशेषज्ञ सेवाका रूपमा उपयोग गर्दै आएको उनको भनाइ थियो।
“बीमा सर्भेयरको महत्व इन्स्योरेन्स सेक्टरमा महत्वपूर्ण छ भन्ने कुरामा दुईमत हुन सक्दैन,” उनले भने। पुस्ता परिवर्तन भए पनि बीमा सर्भेयरको आवश्यकता र भूमिकामा कमी नआएको उनले बताए। कार्यक्रममा अनुभवी तथा नयाँ पुस्ताका सर्भेयरहरूको सहभागिताले पेशाको निरन्तरता र महत्वलाई समेत देखाएको लामिछानेको भनाइ थियो।
उनका अनुसार सर्भेयरको पेशालाई थप मर्यादित र व्यवस्थित बनाउन विगतमा ‘निसा’ लगायतका संस्थामार्फत पहल हुँदै आएको थियो। बीमा प्राधिकरणसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रिसर्च इन्ष्टिच्युट अफ इन्स्योरेन्स सर्भेयर (RICI) स्थापना भएको र अहिले संस्था स्थापनाको एक वर्ष पूरा भएको उनले बताए।
अब संस्थालाई औपचारिक इन्स्टिच्युटका रूपमा प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा लामिछानेले जोड दिए। विशेषगरी सर्भेयरको लाइसेन्स प्राप्त गर्नुअघि आवश्यक परीक्षा, तालिम तथा अन्य प्रक्रियामा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
उनले सर्भेयरको व्यावसायिक दक्षता अभिवृद्धिका लागि पाठ्यक्रम विकास, तालिम सञ्चालन तथा अनुसन्धानलाई संस्थाको प्राथमिकतामा राख्न सुझाव दिए। बीमा नियमावलीमा समेत प्राधिकरणबाट मान्यता प्राप्त निकाय वा संस्थाबाट तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार संस्थागत क्षमता विकास गर्नुपर्ने उनले बताए।
लामिछानेले बीमा सर्भेयरसँग सम्बन्धित विद्यमान विसंगति र अन्योल हटाउन पनि अनुसन्धान आवश्यक रहेको बताए। विशेषगरी सर्भेयरका चारवटा पोर्टफोलियो भए पनि कुन पोर्टफोलियोका लागि कस्तो जनशक्ति आवश्यक हुन्छ भन्ने विषयमा अझै स्पष्टता आवश्यक रहेको उनले उल्लेख गरे। यस विषयमा अनुसन्धान गरी प्राधिकरणलाई नीतिगत सुझाव दिन संस्थाले भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
त्यस्तै, मोटर बीमामा तेस्रो पक्षको कभरेज सीमा वृद्धि भइसकेको सन्दर्भमा त्यसको बीमा शुल्कमा पर्ने प्रभावबारे तथ्यमा आधारित अध्ययन गर्नुपर्ने उनले बताए। उपचार खर्च तथा मृत्यु भएमा प्रदान गरिने रकम बढेकाले त्यसको प्रभाव बीमा शुल्कमा कस्तो पर्छ भन्ने विषयमा तथ्यांक र विगतको दाबी इतिहासका आधारमा अनुसन्धान गर्नुपर्ने उनले उल्लेख गरे।
“यस्ता रिसर्चका प्रतिवेदनका आधारमा प्राधिकरणले नीतिगत निर्णय लिन सक्छ,” लामिछानेले भने। बीमा क्षेत्रका वास्तविक समस्या पहिचान गरी तथ्यमा आधारित सुझाव र अनुसन्धान प्रतिवेदन तयार गर्न सके त्यसले नियामक निकायको नीति निर्माणमा समेत सहयोग पुग्ने उनले बताए। यसका लागि रिसर्च इन्ष्टिच्युटले सर्भेयरको क्षमता विकाससँगै अनुसन्धानलाई पनि संस्थागत प्राथमिकता बनाउनुपर्नेमा उनले जोड दिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया