NIMB Header 2
Prabhu Mahalaxmi

बेलायतको बैंकिङ समूह नेटवेस्टले घरबाट काम गर्ने सुविधामा कटौती गर्दै, १३ हजारको दैनिकी प्रभावित हुने

United Ajod
  • BFIS News
  • 2026 Oct 23 18:26
बेलायतको बैंकिङ समूह नेटवेस्टले घरबाट काम गर्ने सुविधामा कटौती गर्दै, १३ हजारको दैनिकी प्रभावित हुने
Sanima Reliance Life Insurance Company

काठमाडौं। बेलायतको बैंकिङ समूह नेटवेस्टले घरबाट काम गर्ने सुविधामा कटौती गर्दै आफ्ना १३ हजार कर्मचारीलाई महिनामा दुई दिन कार्यालय उपस्थित हुने व्यवस्थाबाट सातामा दुई दिन उपस्थित हुनुपर्ने नियम लागू गर्ने भएको छ। सन् २०२७ फेब्रुअरीदेखि लागू हुने नयाँ व्यवस्थाले बैंकका हजारौँ कर्मचारीको कार्यशैली परिवर्तन गर्ने भएपछि कर्मचारी युनियनले विरोध जनाएको छ।

Nepal Life
NIMB

नेटवेस्टले बेलायतमा कार्यरत आफ्ना करिब ४० हजार कर्मचारीलाई सातामा कम्तीमा दुई दिन कार्यालय उपस्थित हुनुपर्ने व्यवस्था लागू गर्न लागेको हो। यससँगै हजारौँ कर्मचारीले प्रयोग गर्दै आएको ‘रिमोट–फर्स्ट’ अर्थात् कार्यालयभन्दा बाहिरबाट कामलाई प्राथमिकता दिने नीतिको अन्त्य हुनेछ।

कर्मचारी युनियन युनाइटेका अनुसार नयाँ व्यवस्थाबाट विशेषगरी प्रविधि, सुरक्षा, तथ्यांक विश्लेषण र मानव संसाधन विभागमा कार्यरत १३ हजार कर्मचारी प्रभावित हुनेछन्। तीमध्ये केही बैंकका तुलनात्मक रूपमा कम पारिश्रमिक पाउने कर्मचारीसमेत रहेको युनियनले जनाएको छ।

युनियनले नयाँ व्यवस्थाले कर्मचारीको आर्थिक भार बढाउनुका साथै लचिलो कार्यव्यवस्थामा निर्भर कर्मचारीलाई थप कठिनाइ सिर्जना गर्ने जनाएको छ। कार्यालय आउजाउमा लाग्ने खर्च, बालबालिकाको हेरचाहसम्बन्धी लागत र जीवनयापनको बढ्दो खर्चका कारण कर्मचारी थप दबाबमा पर्ने उसको भनाइ छ।

युनाइटेका महासचिव शेरोन ग्राहमले बैंकको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै कर्मचारीले वास्तविक पारिश्रमिकमा वर्षौंदेखि कटौतीको सामना गरिरहेको अवस्थामा यस्तो निर्णय आउनु अन्यायपूर्ण भएको बताइन्।

उनले नेटवेस्टको निर्णय कर्मचारीको वास्तविक अवस्थासँग मेल नखाने उल्लेख गर्दै हजारौँ कर्मचारीले थप यातायात तथा बालहेरचाह खर्च व्यहोर्नुपर्ने बताइन्। विद्यमान सहमतिलाई बेवास्ता गर्दै कार्यव्यवस्थामा परिवर्तन गर्नु कर्मचारीप्रतिको अवहेलना भएको उनको भनाइ छ।

युनियनले प्रस्ताव फिर्ता लिन र कर्मचारीसँग उचित छलफल गरेर मात्रै नयाँ व्यवस्था लागू गर्न बैंकलाई आग्रह गरेको छ।

कोभिड–१९ महामारीका क्रममा विस्तार भएका लचिला कार्यव्यवस्थाअनुसार धेरै कर्मचारीले आफ्नो दैनिक जीवन, पारिवारिक जिम्मेवारी र कामको तालिका मिलाउँदै आएका थिए। नयाँ व्यवस्थाले हेरचाहको जिम्मेवारी भएका तथा अपाङ्गता भएका कर्मचारीलाई विशेष असर पार्न सक्ने युनियनको चिन्ता छ।

सहकार्य र उत्पादकत्व बढाउने बैंकको तर्क

नेटवेस्टले भने कार्यालयमा सँगै काम गर्दा कर्मचारीबीच सहकार्य बढ्ने, विचार आदानप्रदान सहज हुने, व्यावसायिक सम्बन्ध बलियो बन्ने र एकअर्काबाट सिक्ने अवसर विस्तार हुने तर्क गरेको छ।

बैंकका प्रवक्ताले लचिलो कार्यव्यवस्था अझै पनि काम गर्ने तरिकाको महत्त्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै सहकर्मी र ग्राहकसँग प्रत्यक्ष समय बिताउँदा प्राप्त हुने फाइदालाई पनि बैंकले महत्त्व दिएको बताए।

बैंकले नयाँ व्यवस्थाबाट प्रभावित हुने कर्मचारीलाई तयारीका लागि पर्याप्त समय दिने र परिवर्तनको प्रक्रियामा सहयोग गर्ने जनाएको छ।

नेटवेस्टअन्तर्गत रोयल बैंक अफ स्कटल्यान्ड, नेटवेस्ट, अल्स्टर बैंक र काउट्स ब्रान्डमार्फत बैंकिङ सेवा सञ्चालन हुँदै आएको छ। बैंकका सबै कर्मचारीको कार्यतालिका भने समान छैन। ट्रेडिङ, शाखा सेवा र ग्राहक सम्बन्ध व्यवस्थापनमा कार्यरत केही कर्मचारी यसअघि नै सातामा चार दिन कार्यालय उपस्थित हुनुपर्ने व्यवस्थामा छन्। सञ्चार, प्रशासन र तथ्यांक विश्लेषणमा कार्यरत केही कर्मचारी भने महिनामा छ दिन कार्यालय उपस्थित हुने मिश्रित कार्यतालिकामा छन्।

बार्कलेजले पनि कर्मचारीको विरोधपछि निर्णय संशोधन गरेको थियो

बेलायतको बैंकिङ क्षेत्रमा कार्यालय उपस्थितिसम्बन्धी नियम कडा बनाउने नेटवेस्टको निर्णय पछिल्लो उदाहरण हो। यसअघि बार्कलेजले पनि कर्मचारीलाई अक्टोबरको सुरुदेखि सातामा दुई दिनको सट्टा कम्तीमा तीन दिन कार्यालय उपस्थित हुनुपर्ने व्यवस्था ल्याएको थियो।

तर, युनाइटेको समर्थनसहित कर्मचारीबाट विरोध भएपछि बार्कलेजले आफ्नो योजना संशोधन गर्दै केही कर्मचारीका लागि नयाँ नियम लागू गर्ने समय अर्को वर्षसम्म सार्ने निर्णय गरेको थियो।

जेपी मोर्गनदेखि रिभोलुटसम्मका वित्तीय संस्थाले पनि कार्यालयमा उपस्थित भएर काम गर्नुपर्ने व्यवस्थालाई जोड दिँदै आएका छन्। यस्ता संस्थाको तर्कअनुसार पूर्ण रूपमा घरबाट काम गर्दा विशेषगरी नयाँ तथा युवा कर्मचारीको तालिम, सिकाइ र व्यावसायिक विकासमा असर पर्न सक्छ।

नेटवेस्टको नयाँ निर्णयले एकातिर बैंकहरूको प्रत्यक्ष सहकार्यमा आधारित कार्यसंस्कृतिलाई प्राथमिकता दिएको छ भने अर्कोतिर महामारीपछि स्थापित लचिलो कार्यव्यवस्था कायम राख्नुपर्ने कर्मचारीको माग र व्यवस्थापनको अपेक्षाबीचको द्वन्द्वलाई पुनः सतहमा ल्याएको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार