बीमा अभिकर्तालाई भ्रामक प्रचारप्रसार नगर्न नेपाल लाइफको निर्देशन
- BFIS News
- 2026 Aug 25 06:34
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमा अभिकर्ताहरुलाई बीमा व्यवसाय तथा कम्पनीसम्बन्धी गलत, अतिरञ्जित वा भ्रामक प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।
नेपाल बीमा प्राधिकरणले २०८३ भदौ ८ गते बीमा अभिकर्ताहरुलाई जारी गरेको ध्यानाकर्षण सूचनालाई आधार बनाउँदै नेपाल लाइफले आफ्ना अभिकर्ताहरुलाई यस्तो निर्देशन दिएको हो। केही बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरिरहेको उजुरी तथा गुनासो प्राप्त भएपछि प्राधिकरणले ध्यानाकर्षण गराएको थियो।
बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०८३ को निर्देशन नं. १९ अन्तर्गतको अनुसूची १ मा अभिकर्ताको आचारसंहिता व्यवस्था गरिएको छ। आचारसंहिताको बुँदा नं. २(ज) मा अभिकर्ताले आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमकका बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका बारेमा गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ।
यसैगरी, नेपाल लाइफले २०८३ वैशाख ९ गते आफ्ना अभिकर्ताका लागि छुट्टै अभिकर्ता आचारसंहिता बनाएर लागू गरिसकेको जनाएको छ। उक्त आचारसंहिताको दफा २.२५ मा अभिकर्ताले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कम्पनीको छवि बिगार्ने, गलत सूचना फैलाउने वा भ्रामक प्रचार गर्ने कार्य गर्न नहुने व्यवस्था गरिएको छ।
कम्पनीले आचारसंहिता उल्लंघन भएको पुष्टि भएमा प्रचलित कानूनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ। कम्पनीले बीमा अभिकर्ताहरुलाई नियामकीय व्यवस्था तथा आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले बीमा व्यवसायसम्बन्धी सूचना प्रवाह गर्न आग्रह गरेको छ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कानूनी व्यवस्थाको उल्लंघन हुने गरी कुनै कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन्। पछिल्लो समय नेपाल लाइफका केहि अभिकर्ताको समुहले संस्थाको गरिमा र ब्रान्डलाई नै प्रभावित पार्ने गरी अभिव्यक्ति दिदै हिडेका छन्। नेपाल बीमा प्राधिकरणले पनि कम्पनीको यस्ता गतिविधि नगर्न सूचित गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)



.jpg)





प्रतिक्रिया