रसुवागढीको बाढीबाट भएको क्षतिको दाबी प्रक्रिया छिटो अघि बढाउन नेपाल बीमक संघको आग्रह
- BFIS News
- 2026 Aug 26 19:18
काठमाडौं, भदौ १० गते। रसुवाको सीमावर्ती क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।
बाढीबाट नागरिक तथा व्यवसायीका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा पुगेको क्षतिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विपद्को यस कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको र बीमा गरिएका सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न प्रतिबद्ध रहेको संघले स्पष्ट पारेको छ।
संघले प्राकृतिक विपद्का कारण बीमा गरिएको सम्पत्ति, सवारीसाधन, व्यवसाय वा अन्य बीमित सम्पत्तिमा क्षति पुगेका बीमितलाई यथाशीघ्र सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ। समयमै सम्पर्क गरी आवश्यक कागजात तथा विवरण उपलब्ध गराउँदा बीमा दाबी भुक्तानी प्रक्रियालाई सहजीकरण गर्न सहज हुने संघको भनाइ छ।
त्यस्तै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा सहयोग गर्न सम्बन्धित बीमा कम्पनीहरूलाई समेत संघले आग्रह गरेको छ। क्षतिको यथाशीघ्र मूल्यांकन गरी दाबी फर्छ्यौट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन संघले आवश्यक समन्वय गर्ने जनाएको छ।
विपद्का कारण प्रभावित नागरिक तथा व्यवसायीलाई परेको कठिनाइप्रति संवेदनशील रहेको जनाउँदै नेपाल बीमक संघले यस दुःखद घडीमा बीमा क्षेत्र प्रभावित बीमित तथा व्यवसायीको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया