NIMB Header 2
Nepal Life

रसुवागढी बाढीपीडित बीमितको परिवारलाई यथाशीघ्र दाबी फर्छ्यौट गर्न पेशागत बीमा अभिकर्ता संघ नेपालको अपिल

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 26 19:50
रसुवागढी बाढीपीडित बीमितको परिवारलाई  यथाशीघ्र दाबी फर्छ्यौट गर्न पेशागत बीमा अभिकर्ता संघ नेपालको अपिल
United Ajod

काठमाडौं । रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति पेशागत बीमा अभिकर्ता संघ नेपालले गहिरो दुःख व्यक्त गर्दै प्रभावित बीमितको परिवारलाई सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित बीमा कम्पनीहरूलाई आग्रह गरेको छ।

Nepal Life
NIMB

संघले संवत् २०८३ साल भदौ १० गते आएको बाढीबाट ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।

बाढीका कारण रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाको विषय तत्कालीन प्राथमिकतामा रहेको अवस्थामा संघले बीमाको भूमिकालाई समेत प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको हो।

संघका अध्यक्ष ओमबहादुर केसीले विपद्को समयमा बीमा कम्पनीहरूले बीमितप्रति आफ्नो दायित्वलाई प्राथमिकतामा राख्दै दाबी फर्छ्यौटलाई सहज र छिटो बनाउनुपर्ने बताए। उनले भने “विपद्का कारण प्रभावित भएका बीमितका लागि अहिले बीमाको वास्तविक अर्थ र उपयोगिता देखाउने समय हो। क्षतिको यथार्थ मूल्यांकन गरी दाबी दर्तादेखि भुक्तानीसम्मको प्रक्रिया अनावश्यक ढिलाइ नगरी सहज, पारदर्शी र शीघ्र रूपमा अघि बढाउनुपर्छ।”

उनले बीमा अभिकर्ताहरूलाई समेत प्रभावित बीमितको सम्पर्कमा रहेर आवश्यक सहजीकरण गर्न आग्रह गरे। उनका अनुसार विपद्का बेला बीमितले कागजी प्रक्रिया र दाबीसम्बन्धी जटिलताभन्दा राहत र सहजीकरणको अनुभूति गर्न सक्ने वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक छ।

यस्तो विपद्को विषम परिस्थितिमा निर्जीवन तथा जीवन बीमा कम्पनीहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्दै पीडितले राहतको अनुभूति हुने गरी दाबी भुक्तानीलाई छिटो, सहज र प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरणले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा केसीले जोड दिएका छन्।

यसैगरी, संघका महासचिव कल्याण विक्रम पाँडेले बाढीबाट आफू, परिवार, सम्पत्ति, सवारीसाधन, व्यवसाय तथा अन्य बीमित सम्पत्तिमा क्षति पुगेका बीमितहरूको दाबी प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्ने बताए। उनले भने “बाढीबाट प्रभावित बीमितले आफ्नो क्षतिको उचित मूल्यांकन र समयमै बीमाको संरक्षण पाउनु उसको अधिकार हो। दाबी दर्ता, आवश्यक कागजात संकलन, क्षतिको मूल्यांकन तथा दाबी फर्छ्यौटमा जहाँ समस्या देखिन्छ, त्यहाँ अभिकर्ताले बीमित र बीमा कम्पनीबीच प्रभावकारी समन्वय गर्नुपर्छ,” महासचिव पाँडेले भने।

संघले सम्बन्धित बीमा कम्पनीहरूलाई प्रभावित बीमितको दाबी दर्ता, आवश्यक कागजात संकलन, क्षतिको मूल्यांकन तथा दाबी फर्छ्यौटमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ। विशेषगरी विपद्का कारण कागजात जुटाउन कठिनाइ भएका बीमितको अवस्थालाई व्यावहारिक रूपमा सम्बोधन गर्दै दाबी प्रक्रियालाई सहज बनाउनुपर्ने संघको धारणा छ।

त्यस्तै, संघले आफ्ना सम्पूर्ण पेशागत बीमा अभिकर्ताहरूलाई प्रभावित बीमित तथा उनीहरूका परिवारसँग प्रत्यक्ष सम्पर्कमा रही आवश्यक सहयोग र सहजीकरण गर्न आह्वान गरेको छ। बीमा अभिकर्ता बीमित र बीमा कम्पनीबीचको महत्वपूर्ण सम्पर्क सूत्र भएकाले विपद्पछिको अवस्थामा अभिकर्ताको भूमिका अझ महत्वपूर्ण हुने संघले जनाएको छ।

संघले प्रभावित बीमितको क्षतिको उचित मूल्यांकन र दाबी फर्छ्यौट प्रक्रिया प्रभावकारी बनाउन सम्बन्धित पक्षसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्राकृतिक विपद्, बाढी, पहिरो तथा अन्य जोखिमका घटना बढिरहेको पछिल्लो परिस्थितिमा बीमाको भूमिका जोखिम हस्तान्तरणमा मात्र सीमित नरही विपद्पछिको आर्थिक पुनःस्थापनासँग समेत जोडिएको संघको भनाइ छ। बीमितको घर, सवारीसाधन, व्यवसाय तथा अन्य सम्पत्तिमा भएको क्षतिपछि बीमा दाबीबाट प्राप्त हुने रकमले प्रभावित परिवार तथा व्यवसायलाई पुनःआर्थिक गतिविधिमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्न सक्छ।

त्यसैले विपद्बाट प्रभावित बीमितले समयमै बीमाको संरक्षण प्राप्त गर्ने वातावरण बनाउन बीमा कम्पनी, अभिकर्ता, नियामक तथा अन्य सम्बन्धित पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको संघले जनाएको छ।

पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रभावित नागरिक र बीमित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै विपद्पछिको राहत, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा बीमा क्षेत्रले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया